कैलालीमा अभिरल बर्षापछि घर भत्किदा एक जनाकाे ज्यान गयाे
कैलाली । अविरल बर्षाका कारण कच्ची घर भत्किंदा कैलालीमा एक जनाको सोमवार बिहान मृत्यु भएको छ ।
भत्केको घरमा च्यापिएर गोदावरी नगरपालिका–९ धनचौरीकी ६२ वर्षीया दुथा रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।
घरमा सुतेको बेला राति करिब १ बजेतिर घर भत्केको कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । घर भत्किंदा मृतकका श्रीमान ६५ वर्षीय कडेवा राना सामान्य घाइते भएको उनले जानकारी दिए ।
कैलाली लगायत सात नम्बर प्रदेशका सबै जिल्लामा आइतवार रातिदेखि अविरल बर्षा भइरहेको छ । वर्षाका कारण यहाँ रहेका केही नदीनालाहरुमा जलस्तर बढेको छ । यहाँ रहेका महाकाली, कर्णाली, मोहना र खुटिया लगायतका खोलाहरुमा पानीको जलस्तर बढेको जिल्ला प्रशासन कार्यालय कैलालीले जानकारी दिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज भट्टले खोलामा बाढी आउन सक्ने भएकाले प्रभावित क्षेत्रका स्थानियहरुलाई सचेत रहन आग्रह गरिएको बताए । उनले यसका लागि जिल्ला दैविप्रकोप उद्दार समितिका स्वयंसेवकहरुलाई निर्देशन दिई सकेको जानकारी दिए । पश्चिम् टुडे / तस्बिर : समाजिक सञ्जाल