कैलालीको बीउ देशभर बिक्री - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

कैलालीको बीउ देशभर बिक्री



कैलाली । जिल्लाको जानकी गाउँपालिका-४ मुनुवास्थित एक सहकारीले उत्पादन गरेको बीउ मुलुकका विभिन्न जिल्लामा बिक्री वितरण हुन थालेको छ । बीज वृद्धि कृषक सहकारी संस्था मुनुवाले गत आवमा झण्डै दुई हजार क्विन्टल धानको बीउ मुलुकका अन्य जिल्लामा बिक्रीका लागि पठाएको हो ।

सहकारीले सो परिमाणको बीउ बिक्री गर्न कञ्चनपुर, बर्दिया, बाँके, चितवन, बुटवल, दाङ, सुर्खेत, दैलेख, डोटी र डोल्पा पठाउँदै आएको छ । सो सहकारीले गहुँ, मसुरो, तोरी र केराउको बीउसमेत उत्पादन गर्दै आएको छ ।

सहकारीका अध्यक्ष रामफल बडायकका अनुसार ८० हेक्टर जमीनमा धान, ९० हेक्टरमा गहुँ, चार हेक्टरमा मसुरो, १० बिघामा तोरीको बीउ तथा एक हजार ८०० क्विन्टल गहुँकको बीउ उत्पादन गरेको छ । गहुँको बीउ अन्य जिल्लामा बिक्री गरिँदै आएको छ । ‘हाम्रो बीउले किसानको विश्वास जितेको छ,’ अध्यक्ष बडायकले भने । चार वर्षअघिसम्म ४०० क्विन्टल बीउ उत्पादन हुने गरेको थियो । अहिले गहुँ र धान पाँच हजार क्विन्टलसम्म उत्पादन हुन्छ ।

सहकारीसँग दुई ग्रेडिङ मेशिन, एक हजार आठ क्विन्टल क्षमताको एउटा तथा पाँच÷पाँच सय क्विन्टल क्षमताका दुई गोदाम रहेको छ । कृषि व्यापार आयोजना प्याक्ट र कृषि विकास कार्यालयले एउटा÷एउटा तथा अर्को गोदाम रानी जमरा कुलरिया सिँचाइ आयोजना कृषितर्फको सहयोगमा निर्माण गरिएको हो ।

हाल सो सहकारीमा ५४ कृषक आबद्ध छन् । कृषकले एक बिघादेखि पाँच बिघासम्ममा खेती गर्दै आएका छन् । विसं २०५७ मा ५४ कृषकको समूहले बीउ उत्पादन थालेको हो । विसं २०६२ सालमा दर्ता भएको उक्त सहकारीले बीउ उत्पादनसँगै कृषकलाई व्यावसायिकसमेत बनाएको छ । रासस