एमाले कैलालीमा तनाव: दुई पक्षबीच कुटाकुट, निर्वाचन स्थगित - Himal Post Himal Post
  • ५ माघ २०८२, आईतवार
  •      Sun Jan 18 2026
Logo

एमाले कैलालीमा तनाव: दुई पक्षबीच कुटाकुट, निर्वाचन स्थगित



काठमाडौं- कैलालीमा नेकपा (एमाले)का दुई पक्षका कार्यकर्ताबीच अधिवेशनस्थलमै हात हालाहाल भएको छ । निर्वाचन प्रक्रियामा ढिलाइ भएको भन्दै उत्पन्न विवादमा अध्यक्षका उम्मेदवारद्वय रतन थापा र रणबहादुर चन्द पक्षीय कार्यकर्ताबीच आइतबार बेलुका धकेलाधकेल भएको हो।

अध्यक्षका उम्मेदवार थापा र चन्द पक्षीय कार्यकर्ताबीच धकेलाधकेल तथा नाराबाजी भएको छ। आक्रोशित कार्यकर्ताले अधिवेशनस्थलमा तोडफोडसमेत गरेका छन्।अध्यक्षमा थापा र चन्दको उम्मेदवारी परेको छ। एमाले कैलालीका अध्यक्ष थापा र उपाध्यक्ष चन्द प्यानलसहित चुनावी मैदानमा छन्।

अध्यक्षका आकांक्षी थापा, चन्द र डिजी पाण्डेबीच सहमति नजुटेपछि कैलालीको अधिवेशन निर्वाचनमा गएको थियो। चन्दलाई अध्यक्षका आकांक्षी पाण्डेले समर्थन गर्दै उनको प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएका छन्।

शनिबार उम्मेदवारी दर्ता भएको निर्वाचन अन्तर्गत आइतबार निर्वाचन गर्ने कार्यतालिका तय भएको थियो। आइतबार बिहान ८ बजेका लागि तय भएको निर्वाचन सञ्चालनमा ढिलाइ गरेपछि अध्यक्ष रतन थापाले निर्वाचन समिति असक्षम भन्दै भाषण गर्दै अधिवेशनस्थलमा नाराबाजी गरेका थिए।

अध्यक्षका अर्का उम्मेदवार रणबहादुर थापा पक्षले जथाभावी बोलेर प्रतिनिधिहरूलाई भड्काउन नपाइने भन्दै विरोध गरेपछि दुवै पक्षबीच वादविवाद भएको थियो।

अहिले नयाँ नेतृत्व चयनका तय गरिएको निर्वाचन स्थगित भएको छ। सोमबार ८ बजेसम्मका लागि निर्वाचन प्रक्रिया स्थगित गरिएको नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश सविच धर्मराज पाठकले बताए।

आवश्यक तयारी नपुगेपछि निर्वाचन प्रक्रिया स्थगित भएको उनको दाबी छ।