कैलालीको सामुदायिक विद्यालयको शिक्षक छनोट प्रक्रिया अनिश्चित - Himal Post Himal Post
  • १ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 14 2024
Logo

कैलालीको सामुदायिक विद्यालयको शिक्षक छनोट प्रक्रिया अनिश्चित



प्रधानाध्यापकको ढिलासुस्तीले कैलालीको एक सामुदायिक विद्यालयको शिक्षक छनोट प्रक्रिया अनिश्चित बन्दै गएको छ । बिज्ञापन प्रकाशित गरेको महिनौं बितिसक्दा समेत सम्बन्धित विद्यालय प्रअले ध्यान नदिएपछि छनोट प्रक्रिया लम्बिदै गएको हो ।जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ स्थित जगदम्बिके भगवती माविको शिक्षक छनोट प्रक्रिया अनिश्चित हुँदै गएको स्रोतले बताएको छ ।

बिज्ञापन प्रकाशित गरिएको साढे चार महिना बितिसक्दा समेत प्रअ नेत्र बहादुर खड्काले चासो नदिएपछि शिक्षक छनोट प्रक्रिया सुरु हुन नसकेको र आवेदन दिएका शिक्षकमा समेत परीक्षा र छनोट प्रक्रिया कहिले हुन्छ ? भन्नेमा अन्यौलताको स्थिति देखिएको छ ।शिक्षा बिभागले गएको असार २२ गते परिपत्र जारी गर्दै प्राथमिकता क्रम निर्धारण गरि बजेट रकम निकासा दिनका लागि ७७ वटै जिल्लामा निर्देशन गरेको थियो ।
सोही बमोजिम अनुदान रकम निकासा भएपछि विद्यालयले गएको साउन ३० गते मावि तहमा अंग्रेजी विषय शिक्षण गर्न शिक्षकको आवश्यकता सम्बन्धी बिज्ञापन प्रकाशन गरेको थियो ।

नेपाल सरकारबाट निकासा मावि तहको शिक्षण सहयोग अनुदानमा तलब सेवासुबिधा पाउने गरि बिज्ञापन प्रकाशित गरेको थियो ।शिक्षा नियमावली २०५९ परिच्छेद १७ को दफा ९६ (क) बमोजिम सामुदायिक विद्यालयको अनुदान वा करारमा शिक्षक नियुक्ति सिफारिस गर्न ५ सदस्यीय छनोट समिति रहने प्रावधान छ ।

सरकारी अनुदानमा शिक्षकको नियुक्ति गर्दा सम्बन्धित विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वा नीजले तोकेको सदस्य छनोट समितिको अध्यक्ष, सम्बन्धित विद्यालय निरीक्षक वा जिल्ला शिक्षा अधिकारीले तोकेको अधिकृत सदस्य, गाउँपालिकाको प्रतिनिधि र शिक्षाशास्त्र विषयमा कम्तिमा स्नातकोत्तर उत्तीर्ण मध्येबाट महिला समेत रहने गरि २ जना विषयबिज्ञ सदस्य र प्रधानाध्यापक सदस्य सचिव रहने ब्यवस्था छ । तर हालसम्म छनोट समिति समेत गठन गरिएको छैन ।

बिज्ञापन अनुसार सोही विद्यालयमा कार्यरत भुपेन्द्र बहादुर रास्कोटीको मात्रै एकल निवेदन परेको छ ।
विद्यालय ब्यवस्थापन समिति अध्यक्ष रामबहादुर चौधरीले शिक्षक आवश्यकता सम्बन्धी सूचना जारी नगरेको जिकिर गरे । टिभी अन्नपूर्णसँग कुरा गर्दै उनले भने, “शिक्षक नियक्त गर्ने निर्णय भएको हो । सुचना नै जारी गरेको छैन ।” तर यस विषयमा धेरै सोधी खोजी गर्दा उनले सुचना जारी भएको स्वीकार गरे । विद्यालयमा महायज्ञ लगायतका काममा ब्यस्त भएकोले ढिलाई भएको बताए । उनको दोहोरो कुराबाट के पुष्टि हुन्छ भने शिक्षक नियुक्ति ढिलाई हुनुमा अध्यक्षको पनि साथ छ । सुरुमा त उनले सुचना नै जारी नगरेको जिकिर गरे । यसबाट भित्र भित्रै सेटिङ मिलाउने कुनै तयारी हुँदै गरेको पनि अनुमान गर्न सकिन्छ । अर्को विद्यालयले सूचना जारी गर्दा एक जनाको मात्रै आवेदन पर्नुलाई पनि कतिपयले शंकाको रुपमा हेरेका छन् । बिद्यालय प्रधानाध्यापकको मनोमानी निर्णयले अनुदान रकममा समेत अनियमितता हुन सक्ने आशंका देखिएको छ ।

यता बर्दगोरिया गाउँपालिकामा शिक्षा शाखाका प्राविधिक सहायक निरिखनन्दन लालकर्णले भने यस विषयमा अनविज्ञता प्रकट गरेका छन् । शिक्षक आवश्यकता सम्बन्धी सूचना जारी गर्दा शिक्षा शाखाको अनुमति लिनु पर्नेमा त्यसो नभएको उनले बताए । टिभी अन्नपूर्णसँग कुरा गर्दै उनले भने, विद्यालयले शिक्षक आवश्यकता सम्बन्धी सुचना जारी गर्यो भन्ने अनौपचारिक जानकारी मैले पनि पाएको हो । तर औपचारिक रुपमा मसँग कुनै छलफल भएन । स्वीकृत गर्न मैले हस्ताक्षर गर्नु पर्थ्यो तर मलाई सोधिएन । अनौपचारिक भेटघाटका क्रममा मैले प्रअलाई पनि भनेको हुँ । यो विषय टुङ्गो लगाउनुस भनेर ।

प्रधानाध्यापकमाथि आरोपै आरोप

प्रधानाध्यापकले विद्यालयका विभिन्न काममा अनियमितता गरेको आरोप स्रोतको छ । यसअघि निकासा भएको मावि तहको शिक्षण सहयोग अनुदान बापतको वार्षिक ३ लाख २५ हजार ७ सय १४ रुपैयाँ रकम समेत नियम बिपरित प्रावि र निमावि तहका नीजिस्रोत शिक्षकलाई तलब खुवाएको बुझिएको छ ।विद्यालय ब्यवस्थापन समितिले उक्त खर्च शीर्षक रकम पछि सोधभर्ना गर्ने गरि तत्काल तलब खुवाउने निर्णय गरेको भएपनी अहिलेसम्म सोधभर्ना समेत नगरिएको स्रोतको भनाइ छ ।

शैक्षिकसत्र २०७४ सालको आधारभूत तह(कक्षा ८)को अन्तिम उत्तीर्ण परीक्षामा सहभागी नै नभएका ३ जना विद्याथीलाई प्रअले परीक्षाको हाजिरी मिलाएर प्रमाणपत्र दिएको स्रोतको दाबी छ ।आर्थिक वर्ष २०७२/०७३ मा जिल्ला शिक्षा कार्यालय कैलालीबाट निकासा भएको बिज्ञान प्रयोगशाला अनुदान रकम रु ६ लाख ५० हजारमा ९० हजार १ सय २७ हजार रुपैयाँ अनियमितता गरेको आरोप छ । उक्त रकमको हालसम्म पनि बिल भरपाई नभएको स्रोतको दाबी छ ।

त्यस्तै आव २०६९/०७० मा भवन निर्माण र शौचालय निर्माणमा फर्जी बिल मिलान गरि असुली देखाएर अनियमितता गरेको आरोप स्रोतको छ । तत्कालीन विद्यालय व्यवस्थापन अध्यक्ष डिला रानामगरको कार्यकालमा नै प्रअ खड्काले राजिनामा दिएको र बिब्यसबाट उक्त राजिनामा २०७२ बैशाख २७ मा स्वीकृत भैसकेको भएपनि शिक्षा नियमावली बिपरित पदमा बहाल रहेको समेत स्रोतले दाबी गरेको छ । प्रावि तह महिला राहत शिक्षक कुमारी भजन सोडारी को नाममा हाजिरी किर्ते दस्तखत मिलान गरि तलब निकासा गरि अनियमितता गरेको भन्दै यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । उजुरीपछि प्रअलाई स्पष्टिकरणका लागि समेत बोलाइएको स्रोतको दाबी छ ।