कैलाली होटल व्यवसायी सङ्घको ११ औँ साधारण सभा तथा चौथो अधिवेशन,अध्यक्षमा शाही निर्विरोध

लोकेन्द्र रावल/टीकापुर
कैलाली होटल व्यवसायी सङ्घको ११ औँ साधारण सभा तथा चौथो अधिवेशन आइतबार टीकापुरमा भएको छ ।
सङ्घको साधारण सभा उद्घाटन गर्दै नेपाली काँग्रेसका नेता तथा प्रदेश नम्बर ७ का संसदीय दलका नेता डाक्टर रणबहादुर रावलले सदुरपश्चिम म ा पर्यटकीय क्षेत्रको सम्भावना धेरै भएको भन्दै होटेल व्यवसायीलाई सेवामा सुधार गर्न सुझाव दिनुभयो ।
‘पर्यटकीय क्षेत्रमा काम गर्दा बोलीले पनि असर पार्ने भएकाले बोली देखि हरेक सेवामा ख्याल गर्नु पर्छ ,’ डाक्टर रावलले भन्नुभयो, ‘हस्पिटालिटीको जमाना छ । सेवाको स्तर बढाउन जरुरी छ । ’ उहाँले सुदूरपश्चिममा सय भन्दा बढी ताल तलैया छन् भन्दै यी तालको संरक्षण र व्यवस्थापन गर्न सके माछा पालन र पर्यटकीय क्षेत्रको बिस्तार हुन्छ भन्नुभयो । ‘खक्रौला नाकाको स्तर वृद्धि भएको छ भारतले नैनीसारणी देखि मानसरोवरको यात्रा गर्न चासो देखाएको छ यसमा हामीले पनि पहल गर्नुपर्छ ,’ डाक्टर रावलले भन्नुभयो , ‘मान सरोबर जाने बाटो खुल्यो भने यस क्षेत्रमा होटेल व्यवसायी फस्टाउने छन् ।’
डाक्टर रावलले कैलालीको मुख्य परिकार के हो भन्ने बारेमा पर्यटकलाई भन्न सक्नुपर्छ भन्नुभयो ।
प्रदेश सांसद रतन थापाले होटेललाई मन्दिर सरह बनाउन सुझाव दिनु भयो । ‘मन्दिर जस्तो पवित्र होस् होटेल व्यवसाय , उपभोक्ताको चाहना अनुसार खाना र बस्नको सुविधा मिलोस् ,’ थापाले भन्नुभयो ,‘ पर्यटक गोरा र सेता छाला भएका मात्र नभई आन्तरिक पर्यटक बढी हुन्छन् होटेल व्यवसायीले ध्यान दिनुपर्छ ।’ उहाँले आफ्ना सेवा अनुसारको मूल्य लिनुपर्ने भन्दै पर्यटकीय क्षेत्रमा होटेल व्यवसायी को भूमिका अहम छ भन्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेस की नेतृ तथा प्रदेश सांसद उमादेवी वादी, होटल व्यवसायी महांसघका उपाध्यक्ष पदमराज अवस्थी ,जानकी गाउँपालिका का अध्यक्ष प्रदीप चौधरी, नेकपा का नेता सूर्य चन्द्र भट्टराई, नेपाली काँग्रेस का क्षेत्रीय सभापति भुवनेश्वर अधिकारी, खाने पानी उपभोक्ता समितिका अध्यक्ष नवराज रावल, कञ्चनपुर होटेल व्यवसायी सङ्घका उपाध्यक्ष केशव सिंह जोहरा, महासचिव सुशील भट्ट, बाँके होटेल व्यवसायी सङ्घका महासचिव भीम कडेल, टीकापुर १ का वडाध्यक्ष गंगाराम आचार्य, प्रहरी नायव उपरीक्षक शिव बहादुर सिंह, पद्म प्रकाशेश्वर मन्दिर सत्तीका अध्यक्ष विदुर कायस्थ, होटेल व्यवसायी सङ्घका सल्लाहकार भीम बहादुर साउद, पत्रकार पदम सापकोटा लगायतले पर्यटकीय क्षेत्रमा होटेल व्यवसायीको भूमिकाको बारेमा बिचार राखेका थिए ।
उनीहरूले होटल व्यवसायीलाई सम्मानजनक र स्वतन्त्र तरिकाले काम गर्न दिने वातावरण बनाउन सरकारसँग माग गरेका थिए । सङ्घका अध्यक्ष बिरमञ्जन बटालाको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा स्वागत सङ्घका उपाध्यक्ष नरेन्द्र शाहीले गर्नुभएको थियो भने सञ्चालन सचिव तेज बोहराले गर्नुभएको थियो ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिवेदन सचिव खेमराज सिंह कुँवरले सुनाउनु भएको थियो ।
२०६५ सालमा स्थापना भएको होटेल व्यवसायी सङ्घमा अत्तरिया देखि पश्चिम चिसापानीसम्मका करिब ९ सय ६३ जना सदस्य छन् । उनीहरू सङ्गठित भएर पर्यटन क्षेत्रको विकास का लागि लागेका छन् । ‘पर्यटन क्षेत्रको विकासमा होटेल व्यवसायीको भूमिका महत्त्वपूर्ण हुन्छ । सरकारको नीति प्रस्ट नहुँदा होटेल व्यवसायीले पर्यटन क्षेत्रका खुल्नुपर्ने भूमिका खेल्न सकेका छैनन् ।
सङ्घको ११ औँ साधारण सभा तथा चौथो अधिवेशनले अध्यक्षमा नरेन्द्र बहादुर शाहीलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ भने वरिष्ठ उपाध्यक्ष मा सेमराज सिंह कुँवरलाई चयन गरेको छ । त्यस्तै उपाध्यक्षमा अम्मर भण्डारी, महासचिवमा तेजबहादुर बोहरा, सचिवमा रेवन्त बहादुर साउद, कोषाध्यक्षमा कमला बटाला र सह–कोषाध्यक्षमा मोतीलाल ओली नर्विरोध चयन भएको निर्वाचन अधिकृत गणेश प्रसाद ओझाले जानकारी दिनुभयो । त्यस्तै सदस्यहरूमा प्रजे धमला, रविन्द्र विष्ट, दलबहादुर बुचामगर, बिन्तीराम चौधरी, सीतादेवी चौधरी र अमर पोखरेल चयन भएको निर्वाचन अधिकृत ओझाले जानकारी दिनुभएको छ ।

