सर्वोच्चमा फैसलाको तयारी: सुरक्षा व्यवस्था ब्यापक बढाइयो - Himal Post Himal Post
  • ७ माघ २०८१, सोमबार
  •      Mon Jan 20 2025
Logo

सर्वोच्चमा फैसलाको तयारी: सुरक्षा व्यवस्था ब्यापक बढाइयो



काठमाडौँ। काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । सर्वोच्च अदालतले फैसलाको तयारी गरेपछि काठमाडौं उपत्यकाको सुरक्षा ब्यबस्था कडा पारिएको हो

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्च अदालतले आज फैसला सुनाउने सम्भावनाका बिच सर्वोच्च अदालत वरपर र मुख्य चोक–चोकमा हतियारसहितका प्रहरीको टोली तैनाथ गरिएको हो ।

एक सुरक्षा अधिकारीका अनुसार सर्वोच्च अदालतले गर्ने फैसलाले हुनसक्ने सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा तैनाथी बढाइएको हो । उनका अनुसार सर्वोच्च अदालतबाट रिटको पक्ष वा विपक्षमा जस्तो फैसला आए पनि दुवै पक्षले प्रदर्शन गर्नसक्ने अवस्था छ ।

सर्वोच्च अदालतको मुख्य गेटमा तैनाथ सुरक्षाकर्मीहरुले आगन्तुकलाई केरकार गरेर मात्रै भित्र प्रवेश दिने गरेका छन् । यसअघि संसद विघटन बदरको फैसला सुनाउने दिन पनि सुरक्षा तैनाथी बढाएको थियो ।

सर्वोच्च अदालतको मुख्य गेट वरपर पनि सुरक्षाकर्मीहरूको सङ्ख्या अघिल्ला दिनहरूको तुलनामा बाक्लो पारिएको छ । सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा तैनाथी बढाइएको प्रहरी अधिकारीको भनाई छ ।