गठबन्धनको झन् कडा निर्णय: नसघाउने नेतालाई सिधै कारबाही
सत्तारूढ पाँच दलीय गठबन्धनले साझा उम्मेदवारलाई नसघाउने नेता तथा कार्यकर्तालाई कारबाही गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेको गठबन्धनका शीर्ष नेताको बैठकले साझा उम्मेदवारलाई सघाउनुपर्नेमा जोड दिएको छ। स्वतन्त्र उम्मेदवारी दिएका स्थानीय नेता तथा कार्यकर्तालाई अझै पनि साझा उम्मेदवारलाई सघाउन पहल गर्ने निर्णय गरेको छ।
गठबन्धनको निर्णयमा भनिएको छ, ‘पाँच दलीय गठबन्धनमा समझदारी भएका तर समझदारी अनुरूप उम्मेदवारी फिर्ता नलिएको तथा फिर्ता लिने समय अपुग भएका स्थानहरूमा समझदारी अनुरूप कार्य गर्न गराउन आ-आफ्ना दलले आ-आफ्ना मातहतका निकायहरूलाई निर्देश गर्ने।’
यससँगै गठबन्धनका उम्मेदवारलाई सघाउन पहल गर्न पनि उनीहरूले मातहतका निकायलाई निर्देशन दिएका छन्। यसको विरुद्ध जाने नेता तथा कार्यकर्तालाई कारबाही गरिने भएको छ।
‘गठबन्धनको मर्म र भावना अनुरूप आपसी एकता कायम गर्दै निर्वाचनमा सक्रियतापूर्वक जिम्मेवारी पूरा गर्ने,’ गठबन्धनको निर्णयमा भनिएको छ, ‘यो निर्णय पालना नगर्नेलाई आ–आफ्नो दलले कारबाही गर्ने निर्णय गरियो।’
प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको बैठकमा पाँच दलका शीर्ष नेता सहभागी थिए।