सरकारलाई विज्ञको सुझाव: १५ दिन कडाखालको ‘लकडाउन’
काठमाडौं- नेपालमा कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै विज्ञहरुले १५ दिन ‘लकडाउन’ गर्न सरकारलाई सुझाव दिएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा गर्नुभएको परामर्शमा विज्ञहरुले लकडाउन गर्नेदेखि आवश्यक परे कर्फ्यु लगाउनुपर्नेलगायतका सुझाव दिएका हुन् ।
छलफलमा जनस्वास्थ्यविज्ञ डा. रवीन्द्र पाण्डेले समुदायस्तरमै एक व्यक्तिबाट अर्को व्यक्तिमा संक्रमण फैलिने दर बढेकाले १५ दिन कडाखालको लकडाउन गरी स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ अपनाउनेगरी अगाडि बढ्नुपर्ने सुझाव दिए ।
जनस्वास्थ्य वैज्ञानिक डा. समिरमणि दीक्षितले लकडाउन गरेर कोरोना पूर्णरुपमा नियन्त्रणमा नआउने भएकाले बढी संक्रमण फैलिएको क्षेत्रमा मात्र कडाइ गर्नुपर्ने सुझाव दिए ।
स्वास्थ्य सुरक्षाका मापदण्ड नअपनाए अवस्था भयावह हुने भन्दै उनले सबैका सल्लाह–सुझावअनुसार प्रधानमन्त्रीले उचित निर्णय लिने विश्वास व्यक्त गरे ।
छलफलमा सहभागी केही विज्ञहरुले भने लकडाउनमात्रै महामारी नियन्त्रणको उपाय नभएकोले संक्रमण देखिएका निश्चित ठाउँहरु सिलबन्दी गरी सीमानाकामा कडाइ गर्नुपर्ने सुझाव दिएका छन् ।