आपूर्तिमन्त्रीले दिए कालाबजारी, तस्कर र सिण्डिकेटधारी व्यवसायीलाई यस्तो चेतावनी - Himal Post Himal Post
  • ४ माघ २०८१, शुक्रबार
  •      Fri Jan 17 2025
Logo

आपूर्तिमन्त्रीले दिए कालाबजारी, तस्कर र सिण्डिकेटधारी व्यवसायीलाई यस्तो चेतावनी



काठमाडौं। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री माृतका प्रसाद यादवले कालाबजारी, तस्कर र सिण्डिकेटधारी व्यवसायीहरुलाई कडाभन्दा कडा कानूनी कारबाही गर्नेगरि आफू एक्शनमा उत्रिने चेतावनी दिएका छन् ।

सिंहदरबारस्थित् मन्त्रालयमा आज पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै मन्त्री यादवले यस्तो चेतावनी दिएका हुन् । उनले अब कालाबजारी गर्नेहरुलाई आफूले सिधै जेलमा कोच्नेसम्मको तयारी गरेको धमलालाई सुनाए ।

आजमात्रै बजार अनुगमन गर्न आफूले ५ सदस्यीय समिति गठन गरेको पनि उनले जानकारी दिए । हिजो सोमबार कालिमाटी तरकारी बजारको अनुगमन गर्न जाँदा व्यापारीहरुसँग सानो झडपको अवस्था सिर्जना भएको भोलिपल्टै आज मन्त्री यादवले यस्तो कडा कदम चाल्नेबारे रणनीति लिएको सुनाएका हुन् ।

उता, कालिमाटी तरकारी बजार व्यवसायी संघका अध्यक्ष पक्राउ परेपछि भने कालिमाटी बजारका व्यवसायी आक्रोशित बनेका छन् र तरकारी बजार नै ठप्प पारेका छन् ।

कृषकबाट सस्तोमा उठाउने र उपभोक्ताको भान्सासम्म पुग्दा त्यही तरकारी छोइनसक्नु भएपछि सरकारी निकायहरु अनुगमनका नाममा बजारमा उत्रिएका हुन् । व्यापारी र बिचौलियाका कारण तरकारी र फलफूलमा बजार भाउ अकासिएको निष्कर्ष अनुगमनकारी निकायको छ ।