अध्यक्षद्वय इमान्दार हुनुपर्ने लगायतका सुझावसहित कार्यदलले बुझायो प्रतिवेदन - Himal Post Himal Post
  • २५ माघ २०८१, शुक्रबार
  •      Fri Feb 7 2025
Logo

अध्यक्षद्वय इमान्दार हुनुपर्ने लगायतका सुझावसहित कार्यदलले बुझायो प्रतिवेदन



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को किचलो समाधानका लागि गठित कार्यदलले प्रतिवेदन पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएको छ ।

कार्यदलले विभिन्न सुझावहरू समेटेर प्रतिवेदन बुझाएको छ । पार्टी अध्यक्षद्वयले यसअघि गरेका सबै सहमति अक्षरस पालना गर्नुपर्ने र आवस्यकता अनुसार सरकारलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद् समेत हेरफेर गर्न सुझावसहित प्रतिवेदन बुझाएको कार्यदलकै एक सदस्यले बताएका छन् ।

शनिबार बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा एमसीसी परिमार्जनसहित पारित गर्नुपर्ने, अध्यक्षहरुको कार्यविभाजन गर्नुपर्ने र मन्त्रिपरिषद् हेरफेर गर्नुपर्ने लगायतका सुझावसहितको प्रतिवेदन बुझाएको ति सदस्यले बताए ।

प्रतिवेदनमा पार्टी र सरकार संचालनमा इमान्दारिता नदेखिएको, सरकार संचालनमा पार्टीसंग समन्वय नगरेको र एकलौटी गरेको समेत उल्लेख गरिएको बताइएको छ । यसअघि भएको सहमति कार्यान्वयनका लागि इमान्दार हुन कार्यदलले नेतृत्वलाई सुझाएको छ।

दुई अध्यक्षले विगतमा कार्यान्वयन गरेका सुझावबाट विमुख हुँदा पार्टीभित्र समस्या आएकाले दुवै अध्यक्षको व्यवस्थापन हुनेगरी सुझाव समेटिएको बताइएको छ।

यस्तै, मन्त्रिपरिषद् हेरफेरका लागि समेत कार्यदलले सुझाव दिएको छ। संघदेखि प्रदेशसम्मका सरकारलाई चुस्त बनाउनका लागि कार्यसमीक्षा गर्दै मन्त्रीहरुको हेरफेर गर्नुपर्ने सुझाव प्रतिवेदनमा समेटिएको एक सदस्यले जानकारी दिए।

महाधिवेशनको सवालमा केन्द्रीय कमिटीले गरेको निर्णय अनुसार नै चल्नुपर्ने सुझाव कार्यदलले नेताहरुलाई दिएको छ। त्यसका लागि सदस्यताको टुंगो यथाशीघ्र लगाउँदै कार्यकर्ताको कार्यविभाजन समेत टुंगोमा पुर्‍याउन कार्यदलले सुझाव दिएको छ।

राजनीतिक नियुक्ति गर्दा पार्टीमा अनिवार्य छलफल गर्नुपर्ने पद्धतिको विकास गर्न कार्यदलले सुझाव दिएको छ। सरकारलाई कोभिड नियन्त्रण तथा रोकथाममा अझै प्रभावकारी बन्न कार्यदलले सुझाव दिएको छ।

कार्यदलको प्रतिवेदनलाई नेकपाको सचिवालय बैठकमा छलफलका लागि लगिने छ। प्रतिवेदन बुझ्दै अध्यक्षद्वयले छिट्टै सचिवालयको बैठक बोलाउने कार्यदलका सदस्यहरुलाई बताएका छन्।

नेकपा विवाद समाधनका लागि गत साउन ३० गते महासचिव विष्णु पौडेलको संयोजकत्वमा समिति ६ सदस्यीय कार्यदल गठन गरिएको थियो। कार्यदलमा नेताहरु जनार्दन शर्मा, सुरेन्द्र पाण्डे, भीम रावल, पम्फा भुषाल र शंकर पोखरेल सदस्य थिए।