के हुन लागेको यस्तो ? -क्वारेन्टाइनमा बसेको २५ दिनपछि विना लक्षण कोरोना पुष्टि - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

के हुन लागेको यस्तो ? -क्वारेन्टाइनमा बसेको २५ दिनपछि विना लक्षण कोरोना पुष्टि



काठमाडौं- सरकारले भारत तथा तेस्रो मुलुकबाट आउनेहरूलाई १४ दिन क्वारेन्टाइनमा बस्न अनिवार्य गरेको छ । कोरोना संक्रमण भए १४ दिनभित्र लक्षण देखिन्छ भन्ने मान्यताअनुसार यो मापदण्ड अपनाइएको हो ।

तर, काठमाडौंको पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई व्यक्तिको नतिजाले १४ दिनपछि पनि संक्रमण देखिन सक्ने पुष्टि गरिदिएको छ । अपार्टमेन्टमा बस्ने आमा–छोरालाई होम क्वारेन्टाइनमा बसेको २५ दिनपछि कोरोना पोजेटिभ देखिएको छ, त्यो पनि कुनै लक्षण विना ।

उनीहरू ४ चैतमा लन्डनबाट फर्किएका थिए । २५ दिनसम्म कुनै लक्षण नदेखिएपछि उनीहरू संक्रमण नभएकोमा ढुक्क थिए । तर, कागेश्वरी मनोहरा नगरपालिकाले उनीहरूसहित विदेशबाट आएकाहरूको तथ्यांक संकलन गरेर सोमबार मुलपानी स्वास्थ्य चौकीर्मा यापिड टेस्ट गरेको थियो ।

र्‍यापिड टेस्टमा आमा, छोरा र बुहारीको नतिजा पोजेटिभ आएको थियो । त्यसपछि तत्काल उनीहरूलाई पाटन अस्पतालमा भर्ना गरेर पिसिआर टेस्टका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा थ्रोट स्वाब पठाइएको थियो ।

मंगलबार आएको नतिजा आमा–छोराको पोजेटिभ देखिएको छ, बुहारीको भने दोस्रो पटक पिसिआर परीक्षण गरेर मात्रै नतिजा सार्वजनिक गर्ने तयारी छ । संक्रमित आमा ८१ वर्षको र छोरा ५७ वर्षको रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

२५ दिनपछि पनि पिसिआर परीक्षणमा संक्रमण पुष्टि भएपछि स्वास्थ्य क्षेत्रका विज्ञहरू अनुत्तरित बनेका छन् । उनीहरूले १४ दिन क्वारेन्टाइन बसेर मात्रै संक्रमणबाट जोगिन नसक्ने निष्कर्ष निकालेका छन् ।

त्यस्तै, सरकारले सनसिटी अपार्टमेन्टमा बस्ने पाँच सय परिवारका सबैको नमुना संकलन थालेको छ । अपार्टमेन्टमा बस्ने सबैको नमुना संकलन थालिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए । उनीहरूको सम्पर्कमा आएका व्यक्तिको खोजी पनि सुरु भएको बताए ।

सरकारले सातवटै प्रदेशमा र्‍यापिड टेस्ट ट्रायल गरिरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै १३ सय १३ नमुना र्‍यापिड किटमार्फत परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै पिसिआर प्रविधिमार्फत पाँच सय ८४ नमुना परीक्षण भएका छन् ।

हालसम्म देशभर र्‍यापिड किट र पिसिआरमार्फत १२ हजार नौ सय ६ नमुना परीक्षण भएको छ ।
र्‍यापिड टेस्टमा काभ्रे र धादिङमा तीन जनामा कोरोना संक्रमण देखिएको छ । मंगलबार भएको परीक्षणमा काभ्रेमा दुई र धादिङमा एक व्यक्तिमा पोजेटिभ नतिजा आएको हो ।

काभ्रेको मण्डनदेउपुर नगरपालिकाका २३ वर्षीय युवकलाई संक्रमण देखिएको मेयर टोपबहादुर वाइबाले बताए । उनी ७ चैतमा दुबईबाट आएका थिए । २२ दिन क्वारेन्टाइनमा बस्दा लक्षण नदेखिएपछि उनी घर गएका थिए । अर्का संक्रमित बेथानचोक गाउँपालिकाका २८ वर्षीय युवक हुन् । संक्रमित युवक ९ चैतमा भारतबाट फर्किएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद तिमल्सिनाले बताए ।

दुवै जनालाई धुलिखेल अस्पताल लगेर आइसोलेसनमा राखिएको छ । धुलिखेलकै ल्याबमा पिसिआर टेस्ट गर्ने तयारी भएको छ । उनीहरूका परिवारलाई भने स्थानीय तहले क्वारेन्टाइनमा राख्ने तयारी गरेका छन् ।

त्यस्तै, धादिङमा दुई सय ३० जनामा र्‍यापिड टेस्ट भएकोमा ज्वालामुखी गाउँपालिका– ३ अमराईका एक पुरुषमा पोजेटिभ देखिएको छ । उनी २० फागुनमा दक्षिण कोरियाबाट नेपाल आएका थिए । उनी होम क्वारेन्टाइनमा बस्दै आएका थिए । उनको स्वाब पिसिआर परीक्षणका लागि टेकु पठाउने तयारी भइरहेको स्वास्थ्य कार्यालय धादिङका फोकल पर्सन दीपक अछामीले बताए ।

धादिङमा पाँच सय २९ जना विदेशबाट आएका छन् । तर, परीक्षणका लागि किट भने तीन सयवटा मात्रै आएको छ । ‘१४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किएकाहरूको पनि र्‍यापिड टेस्ट गरौँ भन्ने हो, तर किट अभावले सम्भव भएको छैन,’ अछामीले भने, ‘चार सय २० किट मागेको हो, आयो भने गर्छौ ।’ नयाँ पत्रिका दैनिकमा खबर छ