याे सरकार ज्युँदाहरुको हो: योगेश भट्टराई - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

याे सरकार ज्युँदाहरुको हो: योगेश भट्टराई



सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका सांसद योगेश भट्टराईले सरकरले ल्याएको नीति तथा कार्यक्रम समाजवाद उन्मुख, भावी समृद्ध नेपालको मार्गचित्र भएको दावी गरेका छन्।

शुक्रबार संघीय संसदमा सरकारले ल्याएको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्दै सांसद भट्टराईले नीति तथा कार्यक्रम निर्वाचनमा वाम गठबन्धनले जनतालाई देखाएका सपनालाई वास्तविकतामा बदल्ने बृहत् परियोजना भएको दावी गरे।

उनले सरकारले ल्याएका चौडा सडक, अग्ला भवन, रेल, पानीजहाज, ठूला हवाई मैदान आदि यो नीति तथा कार्यक्रममा चर्चित प्रस्तावहरु सीमान्तकृत र श्रमजीवी वर्गको मुहारमा उज्यालो ल्याउन र समाजवादको स्पष्ट दिशा कोर्नका लागि भएको बताए।

नीति तथा कार्यक्रमको पक्षमा बोलेका सांसद भट्टराईले रचनात्मक भुमिका निर्वाह गर्न प्रतिपक्षी दल नेपाली कांग्रेसलाई सुझाव दिए। उनले कांग्रेसले अहिले उठाएका प्रश्नहरु बासी र पुराना भएका कारण यस्ता प्रश्न उटाएर सरकारलाई अलमलमा नपार्न सुझाव दिए।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिंदै सांसद भट्टराईले प्रतिपक्षी दलहरुले बासी प्रश्नको पुलिन्दा तेस्र्याएर सरकारलाई अल्छि बनाउन खोजेको टिप्पणी गरे। उनले सरकारको नीति तथा कार्यक्रमले समृद्ध नेपालको खाका अगाडी सारेको दाबी पनि गरे।

विपक्षी सांसदहरुले सरकारको नीति तथा कार्यक्रमलाई ‘सपनाको पुलिन्दा’ भनेर टिप्पणी गरेको प्रति सांसद भट्टराईले प्रतिवाद गरे। उनले भने, ‘सपना ज्युँदा मान्छेले देख्छन्, यो सरकार पनि ज्युँदो सरकार हो, त्यसकारण सपना देखेको छ।’

त्यस अघि बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद बिजय कुमारले सरकारको नीति तथा कार्यक्रममा राजनीतिक प्रतिवद्धता आउन नसकेको आरोप लगाएका थिए। आमुल राजनीतिक परिवर्तन पछि बनेको सरकार र त्यसले लिएको नीति तथा कार्यक्रम राजनीतिक दृष्टिकोणबाट चुकेको उनको दाबी थियो।

नेता भट्टराईले वर्तमान सरकारले लोकतन्त्रलाई पद्धती मात्रै नभई संस्कृतिको रुपमा अवलम्बन गर्दै आएकोे स्पमरण गराउदै २०४८ सालको संसदमा जस्तो वर्तमान समयमा प्रतिपक्षले उपेक्षा र निषेधको अनुभव गर्नु नपर्ने स्पष्ट पारे।

उनले वर्तमान सरकारले नेपाली राष्ट्रवाद कुर्ची अनुसार बदलिँदैन, अवस्था र स्थिति अनुसार बदलिदैन भन्ने मानक स्थापना गर्ने दाबी गरे।