ज्यानमारा काठमाडौं ! - Himal Post Himal Post
  • ७ आश्विन २०८१, सोमबार
  •      Mon Sep 23 2024
Logo

ज्यानमारा काठमाडौं !



घाम लागे धुलो, पानी परे हिलो राजधानीको सडकको अवस्था हो यो। काठमाडौं उपत्यकाको समग्र वातावरणको व्याख्या जति लामो छ उति भयावह पनि।

संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ।

तर राजधानी वायु प्रदूषणले आक्रान्त बन्दै गइरहेको छ। यहाँका बासिन्दा त्यही प्रदूषणले निम्त्याएका घातक परिणामको सिकार बनिरहेका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा आकाश क्षेत्रीले लेखेका छन्।

वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ढुण्डिराज पौडेलसमक्ष पछिल्लो समय सबैभन्दा बढी प्रदूषणकै कारण बिरामी परेका मानिस पुग्ने गरेका छन्। दैनिक आफूले परीक्षण गर्ने १० देखि १५ जना बिरामीमा प्रदूषणकै असर बढी देखिने गरेको उनी बताउँछन्।

‘कोही घाँटी चिलाउने समस्या लिएर आउँछन्, कोही लामो समय नाक बन्द हुने समस्या लिएर आउँछन्। उनीहरूको समस्या एउटै कारणले निम्तिएको हुन्छ’, डा. पौडेल भन्छन्, ‘कसैलाई धुलोधुवाँको कारण एलर्जी भएको हुन्छ भने कसैलाई यही कारणले पुरानो समस्या बल्झिएको हुन्छ।’

डा. पौडेल आफूकहाँ आएका बिरामीलाई सकभर घरमै आराम गर्न सुझाउँछन्। ‘बाहिर जानैपरे धुलोधुवाँबाट बच्नु’ भन्ने उनको पहिलो सुझाव हुन्छ। तर बिग्रिरहेको वातावरणीय प्रदूषणबाट बच्ने भरपर्दो उपाय उनीसँग छैन।

‘हामीले लगाइरहेको माक्सले उपत्यकाको प्रदूषण रोक्न सक्दैन। यहाँको प्रदूषण रोक्न कुनै स्पेसल माक्स लगाउनुपर्छ’, डा. पौडेल भन्छन्, ‘हामीसँग प्रदूषण नियन्त्रणबाहेक अरू उपाय छैन।’

बर्सेनि २२ हजारको मृत्यु
तीन वर्षअघि विश्व बैंकले यहाँको भयानक चित्र प्रस्तुत गर्‍यो। बैंकको उक्त तथ्यांकमा नेपालमा वायु प्रदूषणका कारण प्रत्येक वर्ष करिब २२ हजारको मानिसको ज्यान जाने गरेको उल्लेख छ।

डा. पौडेलका अनुसार वातावरणीय प्रदूषणले नाक, कान, घाँटीमा तत्काल समस्या पारे पनि दीर्घकालीन रूपमा मुटु, मस्तिष्क, फोक्सोलगायतका विभिन्न भागमा असर गर्छ। ‘हावामा मिसिएका साना कण सासमार्फत शरीरभित्र सजिलै पस्छन् र रगतमा मिसिन्छन् जसका कारण दीर्घकालीन रोग लाग्छ’, उनी भन्छन्, ‘वातावरण प्रदूषणले बालबालिका, गर्भवती र प्रतिरोधक क्षमता कम भएका मनिसमा सोझै असर गर्छ।’

वातावरण संरक्षण नियमावली २०५४ को नियम १५ अनुसार सरकारले वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्ड, २०६९ लागू गरेको छ। मापदण्डअनुसार एक वर्षमा १८ दिनभन्दा बढी तोकिएको सीमा दूषित हावाले नाघ्नु हुँदैन। तर उपत्यकाका सन्दर्भमा दूषित हावाले सीमा नाघिरहेको वातावरण विभागको मापनले देखाउँछ।

राष्ट्रिय मापदण्डमा ९ प्रदूषकलाई वायु प्रदूषणको परिधिभित्र राखिएको छ। विभागले स्थापना गरेका विभिन्न केन्द्रबाट टीएसपी, पीएम–१० र पीएम–२।५ को मात्रा मापन हुँदै आएको छ।

राष्ट्रिय मापदण्डले एक वर्षमा ९५ प्रतिशत दिनमा सफा वातावरण हुनुपर्ने भने पनि उपत्यकामा कात्तिकदेखि चैतसम्म पानी परेको दिनबाहेकको वायु दूषित भएको विभागको मापनले देखाउँछ। वायुको गुणस्तरसम्बन्धी राष्ट्रिय मापदण्डले निर्धारण गरेका नौ प्रदूषकमध्ये तीन मात्राको मापन गर्दा पनि मापदण्डभन्दा बढी हुनुले उपत्यकाभित्र वायु प्रदूषणको उच्च जोखिम प्रस्ट्याउँछ।

उपत्यका बासिन्दा अब ढुक्क भएर बस्ने अवस्था नरहेको वातावरणविद् भूषण तुलाधर बताउँछन्। ‘विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा यहाँ पाँच गुणा बढी वायु प्रदूषण छ’, तुलाधर भन्छन्, ‘हामीमाझ दिनप्रतिदिन खतरा बढिरहेको छ। सरकारले यस क्षेत्रलाई गम्भीर भएर हेर्न जरुरी छ।’