ज्यान गुमाउनेको सङ्ख्या इटालीमा २० हजार बढी, न्युयोर्कमा मात्रै १० हजार - Himal Post Himal Post
  • ३१ बैशाख २०८१, सोमबार
  •      Mon May 13 2024
Logo

ज्यान गुमाउनेको सङ्ख्या इटालीमा २० हजार बढी, न्युयोर्कमा मात्रै १० हजार



एजेन्सी- इटालीमा कोरोना संक्रमणका कारण मर्नेको संख्या २० हजार नाघेको छ ।

सोमबार त्यहाँ मर्नेको संख्या २० हजार ४ सय ६५ पुगेको हो । सोमबारमात्रै इटालीमा ५ सय ६६ जनाको मृत्यु भएको छ ।

आइतबारको तुलनामा यो १३५ ले बढी हो । ५६६ जनामध्ये इटालीको उत्तरी क्षेत्रमा मर्नेको संख्या बढी छ ।

उत्तरी क्षेत्रमा पर्ने लम्बर्डीमा २८० जनाको मृत्यु भएको जनाइएको छ भने संक्रमितको संख्या इटालीमा १ लाख ५९ हजार ५ सय १६ पुगेको छ ।

त्यस्तै, सोमबारै अमेरिकाको न्युयोर्क शहरमा मर्नेको संख्या १० हजार नाघेको छ । एकैदिन त्यहाँ ६ सय ७१ जनाको मृत्यु भएको न्युयोर्कका गभर्नर एन्ड्रयु कु ओमोले पुष्टि गरेका छन् ।

त्यस्तै, बेलायतमा मर्नेको संख्या ११ हजार नाघेको छ । त्यहाँ २४ घण्टामा ७ सय १७ जनाको मृत्यु भएको छ । योसहित बेलायतमा मर्नेको संख्या ११ हजार ३ सय २९ पुगेको हो ।

जन हाप्किन्स विश्वविद्यालयका अनुसार अहिलेसम्म विश्वभर १ लाख १५ हजार २५० जनाको मृत्यु भएको छ भने १८ लाख ६३ हजार ४०० जना संक्रमित भएका छन् ।