७ वटा गोली लागेर बाँचेकी भाग्यमानि ज्वाला
अमेरिकामा नेपाली युवतीमाथी गोली आक्रमण
कालो रङको गाउनमा खुट्टा लम्पसार गरेर खैरो सोफामा बसेकी तर सिकिस्त बिरामी जस्ती देखिने ज्वाला कार्कीलाई झट्ट हेर्दा लाग्छ उनी कुनै ठूलो युद्व लडेर आएकी हुन्। छेउको सानो टि-टेबलमा रहेको सीसाको ग्लास बिस्तारै उठाउँदै ज्वालाले आफ्ना सुकेका ओठ भिजाइन्, अनि पुलुक्क माथि हेरेर भनिन् -‘मलाई बाच्ने रहर छ, सायद त्यही भएर आज जिवित छु।’
आफ्ना मात्र होइन, बुवा आमा र आफू भन्दा दुई वर्ष कान्छो भाइका समेत सपनाहरुलाई पोका पारेर अमेरिका आएकी पोखरा नगरपालिका चौठे १४ कि ज्वाला कार्की एक यस्तो घटनामा बाच्न सफल भइन् जो सामान्य मानिसहरूले कल्पना समेत गर्न सक्दैनन्।
मान्छेको मृत्युका लागी बन्दुकको एक गोली प्रयाप्त हुन्छ, तर शरीर भरि गोलीले चाल्ना झैँ छेद बनाउदा पनि जीवित रहने भाग्यमानी संसारमा बिरलै हुन्छन्। त्यो भाग्यमानीहरुको सानो भिडमा एक नयाँ नाम थपिएको छ- २४ वर्षकी ज्वाला कार्कीको।
अमेरिकाको टेक्सस राज्य स्थित अर्भिंग सहर निवासी ज्वालामाथि करिब दुई साता अघि एक किशोरद्वारा अन्धाधुन्द गोली प्रहार भएको थियो। आफ्नै आपार्टमेन्ट को बाहिर फोनमा कुरा गरिरहेकि ज्वालालाई अश्वेत वर्णका करिब १५ वर्षीय किशोरले एक पटक होइन, दुई पटक होइन, सात- सात पटक गोली चलाएका थिए।
शरीर भरि गोलीले छेद पारे पनि जीवित ज्वालालाई भने यो ‘चमत्कार’ आफ्नो जीवित रहने उत्कट चाहनाको परिणाम हो भन्ने लाग्छ। एक दिन अघि मात्र अस्पताल बाट डिस्चार्ज भएकी ज्वालालाई भेट्न उनी बस्ने अपार्टमेन्टमा सेतोपाटी पुगे पछि ज्वालाले आफ्नो र मृत्युको साक्षात्कारको बेलिबिस्तार लाइन र भनिन् – ‘अपार्टमेन्टको लण्ड्रीरुममा उभिएर फोनमा कुरा गरिरहेकि थिएँ, अचानक एक १५ वर्ष जतिको केटाले बन्दुक देखाएर मेरो पर्स र फोन माग्यो, सुरुमा त विश्वास लागेन, उसले भनेको कुरा ‘प्रोसेस’ गर्न नपाउदै बन्दुक चलाई हाल्यो अनि पहिलो गोलीमा नै लडें।’
सुन्नेको समेत आङ्ग जिरिङ्ग गराउने त्यो भयानक घटना सम्झंदै ज्वाला भन्छिन् ‘चार गोली सम्म चलेको मलाइ याद छ, त्यस पछि मैले हिसाब बिर्से – तर त्यति बेला बुवा आमाको अनुहार याद आयो, सायद जीवनको अन्तिम घडीमा आफ्ना प्रियजनको सम्झना आउँछ होला।’ सात पटक मृत्युलाई पराजित गरेकी ज्वालालाई त्यति बेला लाग्यो कि यो नै उनको जीवनको अन्तिम घडी हो।
एक मिटरको दुरीमा उभिएर बन्दुकधारिले गोलीको वर्षा गरिरहँदा बन्दुकबाट निस्केको बारुदी धुवा देखिन् ज्वालाले, त्यो धुवाँ सँगै आफ्ना सपनाहरू पनि उडेर गएको देखिन् उनले। शरीर भरि गोलीले प्वाल पारे पछि ठाउँ ठाउँबाट निस्केको रगत जमिन भरी फैलिइ रहँदा आफ्ना जीवनभरिका चाहनाहरु समेत त्यही रगत सँग पोखिएको देखिन ज्वालाले।
अब आफू मर्छु र पत्र पत्रिकाका ‘नेपाली युवतीको अमेरिकामा हत्या’ भन्ने समाचार छापिन्छ भन्ने समेत सोच्न भ्याइन् उनले र अचानक त्यो खबर अखबारमा पढ्दै गरेका आफ्ना बुवाको अनुहार सम्झिन्। ‘बुवा आमाले म मरेको खबर अखबारमा पढेर थाह पाउनु हुन्छ अनि त्यस पछि उँहाहरुको के हाल होला भन्ने चिन्ता मेरो लागि आफ्नो मृत्यु भन्दा पनि बढी लाग्यो।’
आफ्नो साहसको प्रेरणाको स्रोत सुनाउदै ज्वाला अगाडी भन्छिन् ‘म यसरि मर्न हुँदैन भन्ने चेतना म आफू अवचेत अवस्थामा आयो र सकी नसकी आफ्ना आँखालाई खुला राख्ने कोसिस गरिरहे र सहयोगको प्रतीक्षामा केही क्षण बिताएँ।’ त्यति बेला सम्म आक्रमणकारीले ज्वालालाई सात पटक गोली चलाईसकेको थियो।
दुई वर्ष अघि मात्र अमेरिका आएकी ज्वाला दुई महिना अघि सम्म मेरिल्याण्ड राज्यमा बसोबास गर्थिन् ‘नेपालीहरू कोही नहुँदा अलि असुरक्षित महसुस हुन्थ्यो, नेपाली धेरै छन् भनेर डालसमा आएँ, आएको दुई महिनामा नै यस्तो भयो।’
ज्वाला आफ्नो पिडा गुनासोमा व्यक्त गर्छिन्। उच्च शिक्षाका लागी अमेरिका आएकी ज्वालालाई नर्स बन्ने रहर छ। नेपालमा ‘एच ए’ सम्मको अध्यन गरेकी ज्वाला भन्छिन् ‘गोलीले शरीरमा पो प्वाल परेको छ त, सपनामा होइन।’
जस्तो सुकै समस्या पर्दा पनि आफ्नो उद्देश्य पुरा नहुञ्जेल जीवनको चाहना छोड्नु हुँदो रहेनछ भन्ने जिउदो उदाहरण बनेकी ज्वाला भन्छिन् – ‘मलाई त मेरो बाच्ने चाहनाले जीवित राखेको हो, आफ्ना लागि नभए पनि आफन्तका लागी बाच्नु पर्छ भन्ने विश्वासको बलमा मैले आज पुनर्जीवन पाएकी हुँ।’
जीवनको यो कठिन घडीमा देश र आफ्नो पारिवार भन्दा हजारौँ कोष टाढा हुँदा पनि अमेरिकाको नेपाली समुदायले आफू प्रति देखाएको माया र स्नेह ज्वालाले जीवन भरि नबिर्सने बताइन्। ‘मैले यो समयमा हजारौँ दाइ – भाईहरु पाएकी छु, मेरो जीवनको रक्षाका लागी सहयोग गर्ने सम्पूर्ण प्रति म सधैँ ऋणी रहने छ’ ज्वालाले भनिन्।
नेपालीहरूको एक अनौपचारिक फेसबुक समूह ‘यूएस नेपाल हेल्प नेटवर्क’ प्रति भने ज्वाला विशेष अनुग्रहित छिन्। ‘यूएस नेपाल हेल्प नेटवर्क’का प्रवेश नेपालले ज्वालालको सहयोगका लागि तिन दिन अघि मात्र सुरु गरेको गो फण्डमा हाल सम्म झन्डै १८ सय अमेरिकी नेपालीहरूले योगदान गरेका छन् जसबाट झन्डै ४० हजार अमेरिकी डलर सकंलन भएको छ।
सेतोपाटीमा बाल जोशीले लेखेका छन्