प्रधानमन्त्रीले तीनजना मन्त्री हटाउन सक्दिन भनेपछि जुटेन सहमति - Himal Post Himal Post
  • ८ पुष २०८१, सोमबार
  •      Mon Dec 23 2024
Logo

प्रधानमन्त्रीले तीनजना मन्त्री हटाउन सक्दिन भनेपछि जुटेन सहमति



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले अब बन्ने मन्त्रीमण्डलमा गृहमन्त्री रामबहादुर थापा, उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्री लेखराज भट्ट र उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेललाई निरन्तरता दिने अडान लिएको खुलेको छ ।

आफूलाई अफ्ठ्यारो पर्दा प्रमुख नेताहरुले नै आफूलाई एक्ल्याएर संकटमा पारेका बेला साथ दिएको भन्दै ओलीले पोखरेल, थापा र भट्टलाई पुनर्गठित टिममा समेत सामेल गराउने मनस्थिति बनाएको स्रोतले जनाएको छ।

केहि महिना अगाडी प्रधानमन्त्री ओलीले सरकार र पार्टी दुवै राम्रोसँग नचलाएको भनी पार्टीको सचिवालय र स्थायी समितिमा उनको राजीनामा माग भएको थियो।

त्यतिबेला कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल तथा माधवकुमार नेपाल, पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायत बहुमत सदस्यले प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने अडान लिँदा पोखरेल, थापा र भट्टले भने ओलीलाई साथ दिएका थिए।

निकै ठुलो उतारचढाव भैरहेका बेला भट्टले सार्वजनिक रुपमै ओलीको समर्थन गरेका थिए भने थापाले मध्यमार्गी रणनीति अपनाउँदा ओलीलाई केहि राहत भएको थियो।

पुनर्गठन कसरी गर्ने भन्ने विषयमा प्रधानमन्त्री ओली र कार्यकारी अध्यक्ष प्रचण्डबीच अझै ठोस सहमति जुट्न नसक्दा सो विषय टुंगिन सकेको छैन। आज पनि बालुवाटारमा सहमति जुटाउन ओली-प्रचण्ड छलफलमै छन्।

बिहीबारदेखि लगातार पाँच दिनसम्म दुई अध्यक्षबीच यही विषयमा छलफल भइरहेको छ। तर, कति मन्त्री हटाउने र कसलाई मन्त्री बनाउने भन्नेमा अझै समझदारी जुट्न सकेको छैन।

मन्त्रिमण्डल पुनर्गठन कुन मोडेलमा गर्ने ? अहिले भएका सबैलाई हटाएर नयाँ लैजाने कि दुई वर्ष पुगेका मात्र हटाएर त्यसमा थप नयाँ पठाउने वा रिक्त रहेको मन्त्रालयमा मात्र थप गरेर जाने? भन्ने बारेमा ओली र प्रचण्डबीच सहमति जुटेको छैन।

प्रधानमन्त्री ओली अहिले भएकामध्ये पोखरेल, थापा र भट्टलाई नहटाउने पक्षमा भने अडिग रहेको उनी निकट स्रोतको दाबी छ।

पोखरेल र थापा मन्त्री भएको दुई वर्ष नाघिसकेको छ भने भट्ट गत मंसिरमा मात्रै पुनर्गठनका बेला समेटिएका हुन्। तत्कालीन उद्योगमन्त्री मात्रिका यादवको मन्त्रालयको जिम्मेवारी भट्टले पाएका थिए। उनी मन्त्री भएको पनि १० महिना पुगेको छ।

जुन मोडेलबाट पुनर्गठन गरिएपनि पोखरेल, थापा र भट्ट भने पुनर्गठित मन्त्रिमण्डलमा पनि समावेश गरिने ओलीनिकट स्रोतको दाबी छ। गृहमन्त्री थापा नेकपाका सचिवालय सदस्य हुन् भने उद्योगमन्त्री भट्ट स्थायी समिति सदस्य हुन्।

नेताहरुका अनुसार सचिवालय बैठकमा थापाले धेरै पटक महत्वपूर्ण मौकामा प्रधानमन्त्री ओलीको पक्षमा धारणा राख्ने गरेका छन्।

सचिवालय सदस्य रहेका उपप्रधानमन्त्री इश्वर पोखरेलको कामबाट सन्तुष्ट नभए पनि प्रधानमन्त्री उनलाई परिवर्तन गर्ने स्थितिमा नभएको नेताहरु बताउँछन्। पार्टी सचिवालय र स्थायी समिति बैठकमा ओली अल्पमतमा पर्दा पोखरेलले उनलाई निरन्तर सहयोग गरिरहेका छन्।

स्रोतका अनुसार प्रचण्डसंगको छलफलका क्रममा पनि प्रधानमन्त्री ओलीले पोखरेल, थापा र भट्टलाई कुनै हालतमा हटाउन नसक्ने बताएकाले सहमति जुट्न नसकेको दाबी छ ।