जनताले जिताउने, माफियाको काम गर्ने सरकार- डा. केसी (पूर्णपाठ) - Himal Post Himal Post
  • १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
Logo

जनताले जिताउने, माफियाको काम गर्ने सरकार- डा. केसी (पूर्णपाठ)



यस्तो छ डा केसीको सम्बोधनको पूर्णपाठ :

‘नमस्कार महानुभावहरु!

म अहिले जुम्ला कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बोल्दै छु। म जुम्लामा सत्याग्रहमा छु। जुम्लामै किन गर्नुपर्‍यो सत्याग्रह भन्ने कुरामा चाहिँ, एक दशकदेखि गाउँगाउँमा स्वास्थ्य सेवा पुगोस् भनी लडिरहेका छौं। गाउँका मान्छे, निम्न, मध्यम, विपन्न वर्गले पनि योग्यता अनुसार डाक्टर, नर्स अथवा विज्ञहरु बन्न सकून्, पढ्न सकून्। त्यस्तो खालको ऐन बनोस्। जबकि ग्रामीण भेगमा बस्ने ८० प्रतिशत जनता अपहेलित र उपेक्षित छन्। त्यसकारण हुम्ला, जुम्लाभन्दा उपयुक्त स्थान अन्यत्र कहीँ हुन सक्दैन।

जुम्लामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान बनेको आठ वर्ष भयो। तर, अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। कर्णाली भेग राज्यबाट सबैभन्दा बढी उपेक्षित क्षेत्र पनि हो। यहाँका मानिस गरिब छन्, बेरोजगार छन्, अशिक्षित छन्। ठूलो मेडिकल कलेज यस क्षेत्रमा थिएन। आठ वर्ष भयो, अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन। सञ्चालनमा आएको भए यहाँका मान्छे डाक्टर बन्थे। नर्स बन्थे। यहाँका मान्छेहरु स्वास्थ्य सम्बन्धी विज्ञ बन्थे। यस क्षेत्रमा स्वास्थ्य सेवा गर्थे। गुणस्तरीय स्वास्थ्य सेवा सबैले प्राप्त गर्थे।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट यहाँका नागरिकले प्रत्यक्ष र अप्रत्यक्ष रोजगारी प्राप्त गर्थे। यस ठाउँको समग्र विकास हुने थियो। तर, अहिलेको सरकार, जसलाई दुई तिहाइ मत दिएर विजयी बनाए, उनीहरुको हकहितको विरुद्ध माफिया, डन, नेताहरु पोस्ने ऐन ल्याउँदै छ।

हामीले आन्दोलन गर्दा जनतामुखी अध्यादेश बनेको थियो। त्यस अध्यादेशलाई तोडमोड गरेर माफिया, डन र नेतामुखी ऐन ल्याउन लागिएको छ। त्यसैको विरुद्धमा मैले सत्याग्रह सुरु गरेको हो। अर्को कुरा, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विशेषज्ञको कमी छ। सरकारको उदासीनताका कारण दक्ष जनशक्तिको कमी भएको हो।

यहाँ भइरहेको टिम मार्फत मेरो राम्रो हेरचाह भइरहेको छ। जबसम्म मेरो माग पूरा हुँदैन, सत्याग्रह रोकिन्न। सरकारका तर्फबाट विभिन्न बहानाबाजी गरेर मलाई यहाँबाट उठाएर काठमाडौं लगेर सत्याग्रह तुहाउने प्रयास हुँदैछ। सरकारलाई मेरो स्वास्थ्यको यति चिन्ता भएको हो भने मेरो माग तुरुन्त पूरा गर, अनसन तुरुन्त तोड्छु।

कुरा साधारण छ। मेरो मागहरु थुप्रै छन्, त्यसमा चिकित्सा शिक्षा अध्यादेशमा कुनै पनि तोडमोड नगरीकन यथारुपमा पारित हुनुपर्छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान तुरुत्त सञ्चालनमा ल्याउनुपर्छ। अख्तियारले भष्टाचारमा दोषी ठहर गरेकाहरुलाई कारबाही गर्नुपर्छ। शिक्षामा राजनीतिक भागबन्डा र हस्तक्षेप अन्त्य गर्नुपर्छ।

धन्यवाद। नमस्कार।