डा केसीको पक्षमा जुम्लावासी सडकमा
जुम्ला- चिकित्सक शिक्षा र गुणस्तरिय स्वास्थ्य सेवाको पक्षमा वकालत गर्दै पाँच दिनदेखि जुम्लाको कबर्डहलमा आमरण अनसनमा बसेका प्राध्यापक डा गोविन्द केसीको समर्थनमा जुम्लावासी सडकमा उत्रिएका छन्।
डा केसीको जीवन रक्षाको माग गर्दै पूर्व सांसददेखि सर्वसाधारण सडकमा उत्रिएका हुन्। उनीहरुले दबावमुलक र्याली समेत गरेका छन्।
‘डा केसीको जीवन रक्षा गर, स्वास्थ्यमा लुटतन्त्रको अन्त्य गर,’ ‘लुटतन्त्र कहिलेसम्म, हामी छौं, जहिलेसम्म,’ ‘स्वास्थ्य क्षेत्रका माफिया होसियार, डा. केसीका जायज माग पुरा गर,’ ‘कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमविविएस पढाई शुरु गर’ लगायतका नाराका साथ जुलुस निकालिएको हो ।
विरोध र्यालीपछि कोण सभालाई संवोधन गर्दै पूर्व सांसद ललितजंग शाहीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पताल जुम्लामा एमबिबिएस पढाइ शुरु गर्ने लगायतका माग राख्दै जारी अनसनमा एक्केवद्धता जाहेर गरे। उनले विपन्न, गरीब सर्वसाधारणको स्वास्थ्य अवस्था बलियो बनाउदै डा केसीको पन्ध्रौं अनसन सफल बनाउन सबैमा अपिल गरे।
उनले भने, ‘उनका माग सम्बोधन गर्न पटक-पटक सरकार समझदारी गर्न बाध्य भएका हुन, ती समझदारीको इमान्दारीताका साथ पालना भएमा कुनै प्रकारको आन्दोलन बेहोर्नु पर्ने अवस्था आउदैन।’
उनले डा. केसीले जुम्लालाई अनसनको थलो बनाएर जुम्लावासीको मुटुको धड्कन बनेको बताए।
‘स्वास्थ्य सेवावाट वञ्चित भएका डा. केसी जीवन मरणको दोसाधमा छन्,’ उनले भने, ‘यथासिघ्र डा.केसीका माग पुरा गर्नको लागि आग्रह गर्दछौै।’
यसअघि नागरिक समाज जुम्लाले डा केसीको जीवन रक्षाको माग गर्दै मंगलवार अर्धनग्न जुलुस निकालेको थियो। नागरिक समाजका अध्यक्ष राजवहादुर महतले सर्वसाधारण जनताले भोग्नु परेको समस्यालाई दृष्टिगत गर्दै डा. केसीले माग उठाएको भन्दै माग पुरा गर्नको लागि सवैमा अपिल गरेका छन ।