जुगल पहिरो: पाँच बालकसहित ११ को शव भेटियो, अझै २७ बेपत्ता
सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरोमा परी बेपत्ता भएकामध्ये ११ जनाको शव फेला परेको छ ।
हालसम्म पहिरोमा पुरिएकामध्ये पाँच बालक, दुई महिला र चार पुरुष गरी ११ जनाको शव निकालिएको वाग्मती प्रदेश प्रहरी कार्यालयका एसएसपी सुदीप गिरीले जानकारी दिएका छन् ।
अझै २७ जना अझै बेपत्ता भएको अनुमान प्रहरीले गरिएको छ । उनका अनुसार पहिरोले ३७ घरमा क्षति पुगेको छ । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा शुक्रबा बिहान पहिरो जाँदा ठूलो जनधनको क्षति भएको हो ।
‘लगातारको प्राकृतिक विपत्तिले थलिएको सिन्धुपाल्चोकको जुुगल गाउँपालिका–२ लिदीमा ठूलो विपत्ति परेको छ । अविरल वर्षापछि गाउँमाथिबाट खसेको पहिरोले ३७ घरमा गम्भीर क्षति पुगेको छ जसमध्ये १३ घर पूर्णतः पुरिएका छन् ।
पहिरोमा परेका ३८ जना स्थानीयमध्ये ११ जनाको शव निकालिएको छ’, सभामुख अग्नीप्रसाद सापकोटाले एक विज्ञप्ति प्रकाशित गर्दै भनेका छन् ।
उनले पाँच जना घाइतेको उद्धार गरी उपचारका लागि चौतारा र काठमाडौं पठाइएको जनाकारी दिएका छन् । उनका अनुसार पहिरोस्थलमा अहिले पनि नेपाली सेना, नेपाल प्रहरी र स्थानीय बासिन्दाको सक्रियतामा पुरिएकाहरुको खोजी कार्य जारी रहेको छ ।