जसपाका नौ मन्त्रीलाई उपेन्द्र यादवको स्पष्टीकरण: पार्टीबाट निश्कासन किन नगर्ने? - Himal Post Himal Post
  • २० फाल्गुन २०८१, मंगलवार
  •      Tue Mar 4 2025
Logo

जसपाका नौ मन्त्रीलाई उपेन्द्र यादवको स्पष्टीकरण: पार्टीबाट निश्कासन किन नगर्ने?



काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले सरकारमा सहभागी ११ मध्ये ९ मन्त्रीलाई स्पष्टीकरण सोधेको छ। जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले २९ जेठमा उनीहरूलाई सात दिने स्पष्टीकरण सोधेका हुन।

स्पष्टीकरणमा भनिएको छ, “८ जेठ २०७८ मा बसेको केन्द्रीय कार्यकारिणी समिति बैठकमा भएको निर्णयको बुँदा नम्बर ४ बमोजिम तपाईंलाई कारबाही किन नगर्ने?” ८ जेठमा बसेको उपेन्द्र पक्षको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएमा पार्टीबाट स्वतः निश्कासन गरिने उल्लेख छ।

त्यही बुँदालाई टेकेर सरकारमा सहभागी सबैलाई पार्टीबाट निकाल्ने उद्धेश्यले स्पष्टीकरण सोधिएको हो। जसपाले उपप्रधानमन्त्री राजेन्द्र महतो र भूमि व्यवस्था, गरिबी निवारण तथा सहकारी मन्त्री लक्ष्मणलाल कर्णलाई भने स्पष्टीकरण सोधेको छैन।

यादव पक्षले जसपाका पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता महतो र केन्द्रीय कार्यकारिणी सदस्यद्वय कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई यसअघि नै निश्कासन गरिसकेको छ। त्यही भएर उनीहरूलाई पुनः स्पष्टीकरण नसोधिएको हो।

निर्वाचन आयोगले भने यादव पक्षले ठाकुरसहित चार नेतालाई गरेको कारवाही र ठाकुर पक्षले यादवलाई गरेको कारबाहीलाई मान्यता नदिने निर्णय गरिसकेको छ।

उपेन्द्र यादव पक्षले सात दिने स्पष्टीकरण सोधेका मन्त्रीमा शरत् सिंह भण्डारी, राज किशोर यादव, अनिल झा, उमाशंकर अरगरिया, एकवाल मियाँ, चन्दा चौधरी, विमल प्रसाद श्रीवास्तव, चन्द्रकान्त चौधरी, रेणुका गुरुङ छन् ।