बोरिस जोन्सनलाई किन भनिंदैछ बेलायतका डोनाल्ड ट्रम्प ? - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

बोरिस जोन्सनलाई किन भनिंदैछ बेलायतका डोनाल्ड ट्रम्प ?



एजेन्सी- इरानका मिडियाले बुधबार प्रधानमन्त्रीको पदभार सम्हाल्दै गरेका बेलायती नेता बोरिस जोन्सनलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग तुलना गरेका छन्।

धेरैजसोले जोन्सनलाई ‘बेलायतको डोनाल्ड ट्रम्प’ भनी टिप्पणी गरेका छन्। केही दिनअघि इरानले बेलायती तेल ट्यांकर नियन्त्रणमा लिएपछि दुई देशबीच कटुता बढेको छ। यसअघि बेलायतले पनि एउटा इरानी ट्यांकर नियन्त्रणमा लिएको थियो।

इरानप्रतिको अमेरिकी नीतितर्फ झुकाव राख्ने भएकाले इरानी सञ्चारमाध्यमले जोन्सनप्रति तिक्ततापूर्ण टिप्पणी गरेका हुन्। इरानको प्रसिद्ध पत्रिका साजेन्देगीले बुधबारीय अंकको पहिलो पृष्ठमा जोन्सनको पूर्ण तस्वीर छाप्दै ‘ब्रिटिश ट्रम्प’ शीर्षकमा समाचार लेखेको छ।

अर्को पत्रिका जाम–ए–जमले ‘ट्रम्पको नक्कल गर्दै’ शीर्षकमा समाचार छापेको छ। त्यस्तै, अर्को इतेमादले ‘कट्टरपन्थीहरूद्वारा चुनिएका बोरिस जोन्सनको कार्यकाल लामो नहुने’ टिप्पणी गरेको छ। रिशालतले इरानविरोधी चारजनाको समूहमा पाँचौ सदस्य थपिएको टिप्पणी गरेको छ।

उक्त पत्रिकाले चारजनाको समूह भनेर अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टोन, इजरायली प्रधानमन्त्री वेन्यामिन नेतान्याहु तथा साउदी राजकुमारद्वय मोहम्मद विन सलमान र मोहम्मद विन जियादलाई संकेत गरेको हो।

सत्तामा आउँदै गरेका बोरिस जोन्सनका लागि ब्रेक्जिटको मुद्दा पहिलो र इरानसँगको समस्या दोस्रो चुनौतीपूर्ण विषय मानिएको छ। इरान र अमेरिकाबीच शत्रुता बढ्दै गर्दा बेलायत पनि उक्त मामिलामा फस्दै गएको छ।