बिहे गरेको एक हप्तामै टुट्यो सँगै जिउने कसम - Himal Post Himal Post
  • २३ बैशाख २०८१, आईतवार
  •      Sun May 5 2024
Logo

बिहे गरेको एक हप्तामै टुट्यो सँगै जिउने कसम



एजेन्सी- इरानमा जनवरी ८ मा भएको युक्रेनी विमान दुर्घटनामा एक नवविवाहित दम्पतिको ज्यान गएको छ । अराश पउरजारबी र पौनेह गोर्जीले जनवरी १ मा तेहरानमा परिवार र साथीभाइलाई साक्षी राखेर सँगै जिउने कसम खाँदै विवाह गरेका थिए ।

नवविवाहित जोडीको नयाँ जीवन सुरु भएको खुसी धेरै दिन टिक्न सकेन । खुसी मनाउन तेहरानबाट उनीहरु क्यानडा जाँदै थिए । “मैले चिनेकामध्ये उनीहरुको जोडी एक उत्कृष्ट जोडी थिए,” नवविवाहित जोडी पउरजारबी र गोर्जीका साथी अमिर फोरउजान्देहले सीटीभीलाई भने, “यदि तपाईंले उनीहरुलाई भेटेको भए अवश्य भन्नुहुन्थ्यो कि तिमीहरु दुवैजना एक-अर्काकै लागि बनेका हौं ।”

इड्मोन्टोनको इरानी हेरिटेज सोसाइटीका अध्यक्ष रेजा अकबरीका अनुसार पउरजारबी र गोर्जी विवाहकै लागि क्यानडाबाट तेहरान आएका थिए । उनले भने, “यो निकै डरलाग्दो र हृदयविदारक घटना हो ।”

नवविवाहित जोडी र अन्य इरानी समुदायका मानिसको मृत्युप्रति तेहरानमा प्रचलित म्यासेजिङ एप टेलिग्राममा उनीहरुले शोक व्यक्त गरिरहेको अकबरीले बताए । उनले दुर्घटनामा ज्यान गुमाएका आठजना आफूले चिनेकै रहेको बताए ।

“एउटै घटनाले यति धेरै राम्रा मान्छेलाई संसारबाट बिदा गर्यो,” उनले भावुक हुँदै भने, “२१ पुगिनसकेका, सेतो स्ट्रापलेस गाउनमा सजिएकी दुलहीले कालो टुक्सेडो लगाएर मुस्कारइरहेका दुलाहाको हातमा समाएको तस्बिर सामाजिक सञ्जाेल फेसबुक पेजमा सेयर गर्दै श्रद्धाञ्ज्ली दिइरहेका छन् ।”

सीमा हमजेलोले फेसबुक पेजमा लेखेकी छन्, “गोर्जी प्रतिभा भएकी बुद्धिमानी र सभ्य केटी थिई । सायद तिमीले उत्तम जीवनका लागि यो संसार छोड्यौ होला, यो मध्यपूर्व हो । तर, तिमीलाई सम्झिरहनेछु प्रिय ।”

गोर्जीकी अर्की साथी यसमिन रजाईले किशोरावस्थामा गणितको एक प्रतिस्पर्धामा सहभागी भएको संयक्त तस्बिर फेसबुकमा राख्दै लेखेकी छन्, “सारै नराम्रो भयो, बरु समय त्यही स्थिर हुनुपर्थ्यो ।”

अल्बेर्टा विश्वविद्यालय पनि शोकाकुल बनेको छ । उक्त विश्वविद्यालयबाटै पउरजारबी र गोर्जीले कम्प्युटर विज्ञानमा ग्रयाजुएट गरेका थिए । उनीहरुसँगै १० विद्यार्थीको पनि उक्त दुर्घटनामा मृत्यु भएको थियो ।

विश्वविद्यालयका उपकुलपति एच ट्रुपिनले एक शोक वक्तव्यमा भनेका छन्, “उक्त दुर्घटनामा ज्यान गुमाउने हरेक व्यक्ति हाम्रो विश्वविद्यालयका र सिंगो समुदायका बौद्धिक र सामाजिक व्यक्तित्व हुन् । हामी उहाँका साथी, शिक्षक र आफन्तजनमा गहिरो समवेदना व्यक्त गर्दछौं । उहाँको मृत्यु एक अपूरणीय क्षति हो ।”

युक्रेनी विमानमा १७६ जनाको मृत्यु भएको थियो । जसमा ६३ क्यानेडियन पनि थिए ।