जितसँगै चिली क्वाटरफाइनलमा - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

जितसँगै चिली क्वाटरफाइनलमा



एजेन्सी – कोपा अमेरिका २०१९ अन्तर्गत समूह ‘सी’ को दोस्रो खेलमा चिलीले इक्वेडरलाई २-१ ले पराजित गरेको छ । लगातार दोस्रो जितसँगै चिली क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

चिलीले खेलको आठौं मिनेटमा नै अग्रता लिएको थियो । कर्नरबाट आएको बल इक्वेडरले क्लियर गर्न नसकेपछि रिबाउन्डमा जोसे फुएनजालिडाले १२ यार्डबाट गोल गर्दै चिलीलाई अग्रता दिलाए । २५ औं मिनेटमा इक्वेडरले पेनाल्टीमार्फत खेल बराबरीमा ल्यायो । चिलीका आरियासले मेन्डेजलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि प्राप्त पेनाल्टीमा एनर भ्यालेन्सियाले गोल गर्दै खेल बराबरीमा ल्याए ।

पहिलो हाफको अन्तिम समयमा चिलीका गोलरक्षक अरियासले इबार्रालाई पेनाल्टी क्षेत्रबाहिर लडाएपछि रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहयोगमा गोलरक्षकले पहेंलो कार्ड दिंदै फ्रिकिक दिए । उक्त फ्रिकिकको सदुपयोग भने इक्वेडरले गर्न सकेन ।

दोस्रो हाफको ५१ औं मिनेटमा चिलीले पुन: अग्रता लियो । चार्ल्स आरान्गिजको पासमा एलेक्सिस सान्चेजले पेनाल्टी क्षेत्र भित्रबाट उत्कृष्ट फिनिसमा गोल गर्दै चिलीको अग्रता पुन: स्थापना गरे । खेलको ८९ औं मिनेटमा इक्वेडर १० खेलाडीमा सिमित भयो । ग्याब्रिएल एकिलिएरले चिलीका मिडफिल्डर आर्टुरो भिडाललाई कुइनोले मुखमा हानेपछि रेफ्रीले उनलाई सिधै रातो कार्ड देखाएका थिए ।

यस जितसँगै चिली २ खेलमा ६ अंक जोड्दै शीर्षस्थानमा रहेर क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो स्थानमा रहेको उरुग्वेले २ खेलमा ४ अंक जोडेको छ । जापानको १ अंक छ भने इक्वेडर अंकविहिन छ ।