संसदमा प्रधानमन्त्रीको नाम ‘झुठप्रसाद ओली’ राखिदिए

काठमाडौं– आइतबारको प्रतिनिधिसभा बैठकमा विपक्षी काँग्रेस सांसद उमाकान्त चौधरी प्रधानमन्त्री खड्गप्रसाद ओलीविरुद्ध खनिए ।
उनले यसअघि जथाभावी कर लगाएर ‘करप्रसाद ओली’ को उपमा पाएका प्रधानमन्त्रीको नाम अब ‘झुठप्रसाद ओली’ राख्दा फरक नपर्ने टिप्पणी गरे । प्रधानमन्त्रीले जनतालाई पटकपटक झुठो आश्वासन दिएकाले उनको नाम झुठप्रसाद राख्दा उपयुक्त हुने तर्क चौधरीको थियो । ‘जथाभावी कर लगाएर उहाँको नाम करप्रसाद राखिएको थियो’, चौधरीले भने, ‘पटकपटक जनतालाई झुठो आश्वासन दिएकाले अब सम्माननीय प्रधानमन्त्रीको नाम ‘झुठप्रसाद ओली’ राख्दा फरक पर्दैन ।’ चौधरीले प्रधानमन्त्रीको नाम बिगारेको भन्दै नेकपा सांसद झपड रावलले नियमात्ति गरे । उनको अमर्यादित शब्द रेकर्डबाट हटाउन रावलले माग गरे । तर, अरुलाई मर्यादित शब्द बोल्न सिकाउँदै गर्दा रावल आफैं भने चिप्लिए ।
उनले काँग्रेस सभापति शेरबहादुर देउवाको नाम बिगारेर ‘छेरबहादुर भन्नु नपरोस’ भन्ने चेतावनी दिए । ‘माननीयज्यूले सम्मानीय प्रधानमन्त्रीको नाम बिगारेर करप्रसाद र झुठप्रसाद भन्नु भएको छ’, ‘पूर्वप्रधानमन्त्री एवम् प्रतिपक्षी दलको नेता हामीले सम्मान गर्ने व्यक्ति शेरबहादुर देउवालाई ‘छेरबहादुर’ भन्न बाध्य भयौँ भने के हुन्छ ?’ यति भन्दा पनि उनले जनताका प्रतिनिधि सांसदले बोल्ने शब्दहरुलाई जनताले नियालेर सुनिरहेको भन्न भ्याए ।

