झुपडीमा फर्किएको त्यो खुसी: दुई महिनादेखि अस्पतालमा बन्धक दम्पती मुक्त   - Himal Post Himal Post
  • २७ माघ २०८१, आईतवार
  •      Sun Feb 9 2025
Logo

झुपडीमा फर्किएको त्यो खुसी: दुई महिनादेखि अस्पतालमा बन्धक दम्पती मुक्त  



-काठमाडौं- लड्न आँटेको फुसको जीर्ण झुप्रो । झुप्रोमा न ढोका न खाट । हप्तौँदेखि चुलो नबलेको भान्सा । चारैतिर झार ढपक्क उम्रेको र आँगनमा घास भरिभराऊ।

कसैको घरको अवस्था यसभन्दा कहालीलाग्दो सायदै हुन्छ । तैपनि घर पुग्दा शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीको मुहारमा खुसी थियो र नयाँ जीवन पाएको हर्ष।

छिमेकीको कुटाइबाट घाइते भई अस्पताल भर्ना भएका र बिल तिर्न नसकेपछि अस्पतालले बन्धन बनाएका शिवचन्द्र सदा र उनकी पत्नी मिलियादेवीको बुधबार उद्धार भएको खबर आजको नयाँ पत्रिका दैनिकमा सप्तरीबाट भोला पासवानले लेखेका छन्।

एम्बुलेन्स चढेर ५७औँ दिनमा घर पुग्दा उनीहरूले हर्षका आँसु झारे । शिवचन्द्र र उनकी श्रीमती धेरैबेर भक्कानिए । उनको घर–आँगनमा जम्मा भएका अरू हेरेकोहेरैै भए । सन्नाटा नै छायो । तर, दम्पती घर पुग्दा छिमेकका केही केटाकेटी आँगनमा रहेको घाँस सफा गर्दै थिए।

निरन्तरको झरीले बाँसको टाटीमा माटोले लिपेर बनाएको जीर्ण घरमा पुगेपछि दम्पतीले छोराछोरी खोजे । तर, केटाकेटी घरमा केही खानेकुरा नभएर मावली गएका थिए।

छिमेकी रामपरी सदाका अनुसार मामाघरकी हजुरआमाले तीन नातिनातिनालाई लिएर गएकी थिइन्।

ठूलो संघर्ष जितेर सदादम्पती घर त पुगे । तर, मनभरि चिन्ता र भय छ । घरमा खानलाई एक मुठी अन्न छैन, के खाएर ज्यान पाल्ने? यो चिन्ता त छ नै । फेरि पापी छिमेकीको आक्रमण हुने कि भन्ने भय पनि उत्तिकै छ । केहीबेरको आरामपछि शिवचन्द्रले भने, ‘अस्पतालबाट त जसोतसो आइयो, अब के खाएर बाँच्ने?’

एकैछिन टोलाएपछि शिवचन्द्रको आँखाबाट फेरि आँसु झ¥यो । उनको आँखाले छोराछोरीको अनुहार हेर्न खोजेका थिए । तल मुन्टो लगाएर भने, ‘केटाकेटीको मावली सीमावर्ती भारतीय गाउँ लालपुर छ । अब तिनीहरूलाई कसरी घर फर्काउने? घरमा सुरक्षा हुन्छ कि हुँदैन, डरैडर छ।’