दैनिक दुई झोलुंगे पुल निर्माण, यो वर्ष ६ सय निर्माण गर्ने लक्ष्य - Himal Post Himal Post
  • २३ माघ २०८१, बुधबार
  •      Wed Feb 5 2025
Logo

दैनिक दुई झोलुंगे पुल निर्माण, यो वर्ष ६ सय निर्माण गर्ने लक्ष्य



काठमाडौं- देशका विभिन्न स्थानमा गरी औसत रूपमा दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भइरहेका छन्।

सङ्घ, प्रदेश र स्थानीय तहबाट यो सङ्ख्यामा झोलुङ्गे पुल निर्माण भइरहेको खबर आजको गोरखापत्र दैनिकमा नगेन्द्र सापकोटाले लेखेका छन्।

सरकारले चालू आर्थिक वर्षमा छ सय झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । तीमध्ये सङ्घीय सरकारले ९०, प्रदेश सरकारले १६ र स्थानीय तहले ४९४ वटा पुल निर्माण गर्नुपर्नेछ । तीनवटै तहले निर्माण गर्नुपर्ने झोलुङ्गे पुलमध्ये गएको माघसम्म २२१ वटा झोलुङ्गे पुल निर्माण सम्पन्न भइसकेको छ।

बाँकी ३७९ वटा झोलुङ्गे पुल निर्माणाधीन अवस्थामा रहेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागले जनाएको छ।

यस वर्ष निर्माण गर्नुपर्ने छ सय झोलुङ्गे पुलमध्ये स्थानीय तहले १९० र सङ्घीय सरकारले ३० वटा झोलुङ्गे पुल निर्माण गरिसकेका छन् । प्रदेश सरकारले निर्माण गर्नुपर्ने सबै पुल निर्माणाधीन अवस्थामा रहेको विभागका प्रवक्ता अशोककुमार साहले जानकारी दिए।

देशैभर तीनवटै तहले निर्माण गरेका पुलको अवस्था मूल्याङ्कन गर्दा अहिले दैनिक दुईवटाका दरले झोलुङ्गे पुल निर्माण भएका छन्,’ उनले भने, ‘मासिक ५० देखि ६० वटा र यो वर्ष छ सय झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेका छन्।’

माघसम्म स्थानीय तहअन्तर्गत निर्माण सम्पन्न भएका पुलमा प्रदेश १ मा १९, प्रदेश २ मा ६, बागमतीमा २५, गण्डकीमा ६२, लुम्बिनीमा २४, कर्णालीमा ३१ र सुदूरपश्चिममा २३ गरी १९० वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । त्यस्तै सङ्घीय सरकारले २४ झोलुङ्गे पुल निर्माण गरेको छ।