सांसद झपट रावलको घरमा आक्रमण - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

सांसद झपट रावलको घरमा आक्रमण



काठमाडौं- प्रतिनिधि सभा सदस्य झपटबहादुर रावल बस्ने घरमा गएराति अज्ञात समूहले ढुंगा प्रहार गरेको छ । राज्य ब्यवस्था तथा सुशासन समितिको बिहीबारको बैठकमा बोल्दै उनले यसबारे जानकारी दिएका हुन् । राति १२ बजेको समयमा उनी बस्ने घरमा ढुंगा भएको उनले बताए ।

‘राति १२ बजे ढोकामा कसैले ढुंगा हान्यो,’ समिति बैठकमा उनले भने, ‘हामी उठ्यौं । पाँच/दश मिनेटपछि फेरि ढुंगा हान्यो । मैले प्रहरीलाई जानकारी दिन धेरै प्रयत्न गरेँ । तर, धेरै प्रयास गर्दा मात्रै हनुमान ढोका प्रहरीसँग सम्पर्क भयो । खबर गरेको ४५ मिनेटपछि मात्रै प्रहरी आइपुग्यो ।’

उनले यस्ता घटनामा तत्काल प्रहरी परिचालनको व्यवस्था गर्नुपर्ने समेत बताए । घटनाको छानबिन गर्न उनले माग गरे । ‘मेरो कसैसँग रिसिइबी छैन,’ उनले भने, ‘घरधनी कानुन व्यवसायी हुनुहुन्छ । उहाँको के छ थाहा छैन । यो कसले किन गर्यो ? तुरन्त छानबिन गरियोस् ।’

रावल नेकपा एमालेका सांसद् हुन् । एमालेमा विवाद देखिएपछि उनी अहिले खनाल–नेपाल समूहमा छन् ।