प्रधानमन्त्रीकै जिल्लामा राजावादीले कास्टिङ देखाएपछि... - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

प्रधानमन्त्रीकै जिल्लामा राजावादीले कास्टिङ देखाएपछि…



विराटनगर- प्रधानमन्त्री केपी ओलीको आफ्नै गृहजिल्ला झापामा धर्म निरपेक्षता र गणतन्त्रविरुद्ध विशाल प्रदर्शन गरिएको छ । राजतन्त्रको पुनस्र्थापना र हिन्दु राष्ट्रको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीको नेतृत्वमा झापाको प्रमुख सहर बिर्तामोडमा मोटरसाइकल जुलुस निकालिएको हो ।

राप्रपाले शनिबार देशभर प्रदर्शन गर्ने घोषणा गरेको थियो । जसअनुसार नाराजाबाजीसहित राजावादीले बृहत जुलुस र त्यसपछि सभा आयोजना गरेका हुन् । सभालाई सम्वोधन गर्दै सांसद तथा राप्रपाका नेता राजेन्द्र लिङ्देनले यो प्रदर्शन कास्टिङ मात्र भएको बताएका थिए ।

जुलुसमा सहभागीले ‘गणतन्त्र धोका हो’ ‘राजसंस्था जिन्दावाद’, र ‘हिन्दुराष्ट्र पुनस्र्थापना गर’, ‘संघीयता खारेज गर’ जस्ता नारा लगाएका थिए ।

भ्रष्टाचार नियन्त्रण गर्न नसकेको र कोरोना व्यवस्थापनको नाममा अनियमितता भएको र सरकार असक्षम भएको भन्दै राप्रपाले झापामा पनि प्रदर्शन गरेको जनाएको छ । झापाका विभिन्न पालिकाहरुबाट आएका मोटरसाइकल र्याली नेपाल–भारतको सीमावर्ती सहर काँकडभिट्टामा भेला भइ एकसाथ बिर्तामोडतर्फ अघि बढेको थियो । त्यहाँ विरोध सभा आयोजना गरिएको थियो ।

सभामा बोल्दै लिङ्देनले राजसंस्था नेपालका लागि अपरिहार्य भएको बताउँदै भने,“सरकारको विषयमा हामीले केही भन्नै परेको छैन जनता नै जानकार छन् । अब यो पूर्णत असफल भइसकेको छ ।” उनले हिन्दुराष्ट्र कुनै जात विशेषले मान्ने धर्म मात्र नभएर नेपाली जनताको एकता, गौरब र पहिचानसँग सम्बन्धित विषय रहेको दाबी गरे ।

“नेपालजस्तो सानो र गरिब मुलुकले संघीयता धान्न सक्दैन,” लिङ्देनले प्रश्न गर्दै भने,“गणतन्त्र, धर्म निरपेक्षता साधन मात्र हो । देशले त पायो तर नागरिकले के पाए ?” उनले राप्रपा सबै किसिमको आन्दोलनको नेतृत्व गर्न तयार रहेको सुनाए । उनले दुई तिहाइ मत लिएर गएको पाटी अध्यक्ष बनेका दुई नेताहरु नै एक–अर्कालाई भ्रष्टाचारी र हत्याराको आरोप लगाएर बसेको आरोप लगाउँदै गणतन्त्र, धर्म निरपेक्षता र संघीयता झुटको खेती मात्र भएको आरोप लगाए ।