झापामा चार जना मृत भेटिए - Himal Post Himal Post
  • २९ माघ २०८१, मंगलवार
  •      Tue Feb 11 2025
Logo

झापामा चार जना मृत भेटिए



काँकडभिट्टा- झापामा आइतबार आमाछोरासहित चार जना मृत भेटिएका छन् । विभिन्न ठाउँमा चार शव फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार कन्काई नगरपालिकास्थित बिरिङ खोलामा ३८ वर्षीया उमा विक र उनका ३ वर्षीय छोरा शिशिरको शव फेला परेको थियो । शिशिरको शव कन्काई ६ स्थित बिरिङ खोलाको बगरमा घोप्टिएको अवस्थामा थियो ।

सुनवर्षी नगरपालिकाका दिलीप लोहारकी श्रीमती उमा शनिबार राती माइतीघरबाट नाबालक छोरा च्यापेर निस्केकी थिइन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ताले घटनाबारे अनुसन्धान सुरु गरिएको जनाएका छन् ।

त्यस्तै अटो चालक बिर्तामोडको पुरोना भद्रपुर रोडमा डेरा गरी बस्ने कचनकवलका भाद्रु राजवंशी मृत भेटिएका छन् । अनुहारमा चोटैचोट छ । उनको कुटपिट पछि हत्या गरिएको पारिवारको आरोप छ । परिवारले राजवंशीको हत्या आशंका गरेको छ ।

प्रहरीले घटनाको अनुसन्धान सुरु भएको जनाएको छ । आइतबारै हल्दीबारी गाउँपालिका २ र भद्रपुर नगरपालिका ७ बीचको देउनिया खोलाको किनारमा भद्रपुर ७ बस्ने जीवन बानियाँको श्रीमती ३६ वर्षीया मेनुका बानियाँको शव फेला परेको छ । शव पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।

यो घटनाको पनि प्रहरी अनुसन्धान सुरु गरेको जनाएको छ ।