१०० दिन पुगेको उपलक्ष्यमा सरकार र कोरोनालाई मन्त्री झाँक्रीको 'कुरी-कुरी' - Himal Post Himal Post
  • २ असार २०८३, मंगलवार
  •      Tue Jun 16 2026
Logo

१०० दिन पुगेको उपलक्ष्यमा सरकार र कोरोनालाई मन्त्री झाँक्रीको ‘कुरी-कुरी’



काठमाडौं- सरकारमा बसेकै मन्त्रीहरूले आफ्नै मन्त्रिपरिषद बैठकले गरेका निर्णय र कानुनहरू उल्लङ्घन गरेका छन् । यास्तई आफ्नै मन्त्रिपरिषद बैठकले गरेको निर्णय तत्कालै उल्लङ्घन गर्ने मन्त्री बनेकी छन् सहरी विकास मन्त्री रामकुमारी झाँक्री ।

मन्त्रिपरिषदले नै गरेको निर्णय सरकारले सार्वजनिक गरेको भोलिपल्ट नै उनले उल्लङ्घन गरेकी छन् । कोरोना महामारी फैलिएका बेला सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई स्वयं मन्त्रीले नै उलंघन गरेपछि सामाजिक सञ्जालमा आलोचना बहेको छ ।

मन्त्री झाँक्रीले सरकारले तोकेको मापदण्ड उलंघन गर्दै झण्डै ५० जना उपस्थित गराएर आज पत्रकार सम्मेलन गरेकी छन् । भर्खरै मात्रै पिर्के सलामी खाएर आलोचना खेपेकी मन्त्री झाँक्रीले आज आयोजना गरेको कार्यक्रम पनि सरकारलाई नै गिज्याएको जस्तो थियो ।

आइतबार मात्रै सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मन्त्रिपरिषदको निर्णय सावर्जनिक गर्दै भनेका थिए, ‘अब सार्वजिनक स्थलमा स्वास्थ्य मापदण्ड पालना गरेर २५ जना मात्र उपस्थित हुन पाइन्छ।’ तर त्यसको २४ घण्टा नबित्दै मन्त्री झाँक्रीले पत्रकार सम्मेलनको नाममा जुलुस नै निकालेकी थिइन् ।

सरकारले जारी गरेको यस्ता आदेश सहरी विकास मन्त्री झाँक्रीले २४ घण्टा नवित्दै उल्लंघन गरेपछिफेरि उनी आलोचित बनेकी छन् । बबरमहलमा सोमबार ठूलो संख्यामा पत्रकार उपस्थित गराएर आफ्ना १०० दिने उपलब्धी मात्र सुनाइनन् ब्यापक फैलिरहेको कोरोनालाई पनि कुरी कुरी गरिन् ।

तामझामका साथ आयोजना गरिएको पत्रकार सम्मेलनमा सरकारले भने जसरी स्वास्थ्यका कुनै मापदण्ड पालना गरिएको थिएन। साना हलभित्र झण्डै ५० जनाभन्दा बढी पत्रकार, मन्त्रालयका कर्मचारीको भिडभाड थियो । सो मन्त्रालयका सचिव मणीराम गेलाल कोरोना पोजेटिभ भएर स्वास्थ्य लाभ गरिरहेका छन् ।

चर्चाकै लागि झाँक्रीले गरेजस्तै पत्रकार र कर्मचारी भेला पारेर गरेका यस्ता कार्यक्रमहरू नै कोरोना फैलाउने मेसिन बनेका छन् ।