कांग्रेस र माओवादीसँग बदला लिने रामकुमारी झाँक्रीको घोषणा
काठमाडौं- नेकपा एकीकृत समाजवादी पार्टीकी नेतृ रामकुमारी झाँक्रीले पाँच दलीय गठबन्धनमा आफूहरूमाथि अपमान गरिएको आरोप लगाएकी छन्।
चुनावी तालमेल सम्मानजनक नभएको गुनासो गर्दै झाँकीले गठबन्धनका केही नेताहरूले दम्भ देखाएको टिप्पणी गर्दै गठबन्धन भित्रकै दलहरूको हिसाबकिताब गर्ने बताएकी छन्। नेकपा एससंगको गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टीलगायत छन् ।
सहरी विकास मन्त्रीसमेत रहेकी झाँक्रीले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘गठबन्धन सन्तोषजनक र सम्मानजनक भएन। गठबन्धनका दलहरूबीचमा हामीले आफैँभित्र पनि हार्दिकतापूर्ण वातावरण बनाउन सकेनौं। हाम्रा वार्ता र संवादमा केही दम्भ देखियो।’
केही दिनअघि मात्रै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेस र माओवादीले आफूलाई ठूलो ठानेर दम्भ देखाएको बताएका थिए। त्यसको केही दिनमै झाँक्रीले पनि गठबन्धनमा आफूहरूमाथि अपमान भएको भन्दै असन्तोष पोखेकी छन्।
उनले चुनावी तालमेल भइरहँदा गठबन्धनकै केही नेताहरूका अभिव्यक्ति उदेकलाग्दा आइरहेको टिप्पणीसमेत गरेकी छन्।
‘योबीचमा गठबन्धनका केही नेताहरूको अभिव्यक्ति सुन्दा लाग्छ एक दिन यसको हिसाब मिलान गर्नुपर्ने छ। बस!’, उनले भनेकी छन्। कुनै समय यसको हिसाब मिलान गर्ने भन्दै झाँक्रीले यसको बदला लिने संकेत गरेकी छन् ।