झन् फैलिंदैछ कोरोना : हरेक दिन बनाउँदैछ रेकर्ड
काठमाडौं- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण दर झनै तिब्र बनेको छ ।
पछिल्लो दुई सातामा हरेक दिन १ लाख २० हजारभन्दा बढि संक्रमित भेटिदै आएकोमा मंगलबार एकै दिनमा १ लाख ४२ हजार ५ सय ५७ जनामा संक्रमण पुष्टि भएको छ । यो अहिलेसम्म उच्च संक्रमणदर हो ।
यसअघि जेठ ३० गते १ लाख ४२ हजार १ सय १३ जना संक्रमित थपिएका थिए भने जेठ २९ गते १ लाख ३७ हजार ९ सय ८, जेठ २८ गते १ लाख ३५ हजार ६ सय ३८ जनामा संक्रमण पुष्टि भएको थियो ।
पछिल्लो २४ घण्टामा सबैभन्दा बढी ब्राजिलमा ३७ हजार २ सय ७८ जना संक्रमित भेटिएका छन् । अमेरिकामा २५ हजार ४ सय ५०, भारतमा ११ हजार १ सय ३५, रुसमा ८ हजार २ सय ४८ जनामा संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा चीलिमा ५ हजार १३, पाकिस्तानमा ४ हजार ४ सय ४३, साउदी अरबमा ४ हजार २ सय ६७, पेरुमा ४ हजार १ सय ६४, बंगलादेशमा ३ हजार ८ सय ६२, मेक्सिकोमा ३ हजार ४ सय २७, इरानमा २ हजार ५ सय ६३ जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट ६ हजार ५ सय ९२ जनाको मृत्यु भएको छ । जसमध्ये भारतमा २ हजार ६, ब्राजिलमा १ हजार ३ सय ३८, अमेरिकामा ८ सय ४९, मेक्सिकोमा ४ सय ३९, बेलायतमा २ सय ३३, पेरुमा १ सय ९६ र रुसमा १ सय ९३ जना रहेका छन् ।
जोन हपकिन्स विश्वविद्यालयका अनुसार कोरोनाबाट अहिलेसम्म ८१ लाख ५५ हजारभन्दा बढि व्यक्ति संक्रमित भएका छन् भने ४ लाख ४१ हजार ५ सय ५ जनाको मृत्यु भएको छ ।