झम्सिखेलमा गोप्य बैठक सकियो: यस्तो भयो सहमती - Himal Post Himal Post
  • २० माघ २०८१, आईतवार
  •      Sun Feb 2 2025
Logo

झम्सिखेलमा गोप्य बैठक सकियो: यस्तो भयो सहमती



काठमाडौं- बुधबार साँझ झम्सिखेलमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहको भेला सकिएको छ ।

पार्टीमा चलिरहेको चरम विवाद जटिल हुँदै गएको नेताहरूले निष्कर्ष निकालेका छन् । उक्त समूहको भेलामा अध्यक्ष तथा प्रधानमन्त्री ओली फरक ढंगले अघि बढेकाले त्यही अनुसार रणनीति बनाउनुपर्ने निष्कर्ष निकालेका छन् ।

पार्टी र सरकार दुवै राम्रोसँग चलाउन नसकेका ओली सच्चिनतिर भन्दा पनि आलोचकलाई पेल्न उद्दत भएको प्रचण्ड-नेपाल समूहको बुझाइ छ। त्यसैले अघिल्ला बैठकहरुमा जस्तो ओठे आत्मालोचना र प्रतिबद्धताका आधारमा राजिनामाको मागबाट पछि हट्न नहुने निष्कर्ष निकालिएको उक्त भेलामा सहभागी एक नेताले बताए।

बुधबार बिहान प्रधानमन्त्री ओलीले सुझाव लिएपछि प्रचण्ड र नेपालले आफू निकट नेताजरुलाई बोलाएर सुझाव लिएका हुन्। धेरैले यतिबेला पछि हट्न नहुने सुझाव दिएको एक नेता बताउँछन्।

नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम लगायतले पार्टी फुट्न चाहिँ दिन नहुने बताएका छन्। उनीहरुले राष्ट्रपतिलाई भेटेर यस विषयमा कुरा गर्न सुझाएका छन्। प्रधानमन्त्री ओलीलाई पनि मनाएर अघि बढ्नुपर्ने धारणा राखेका छन्।

केही दिनदेखि जारी बैठकमा नेपाल-प्रचण्ड समूहका नेताहरुले ओलीको राजीनामा माग गरेका छन्। भेलामा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य तथा केही मन्त्रीहरू पनि सहभागी भएको बताइएको छ।

बैठकमा प्रचण्डसहित नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, जनार्दन शर्मा, घनश्याम भुसाललगायत ३० जना नेता सहभागी थिए।