झलनाथ भन्छन: अहिलेका मन्त्रीहरूले काम गर्न सक्दैनन्, फेर्नुपर्छ - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

झलनाथ भन्छन: अहिलेका मन्त्रीहरूले काम गर्न सक्दैनन्, फेर्नुपर्छ



इलाम : नेकपाका वरिष्ठ नेता झलनाथ खनालले मन्त्रिपरिषद् परिवर्तन हुने कुरा सत्यता भएको बताएका छन्। उनले अहिलेका मन्त्रीहरूले देशलाई पार लगाउन नसक्ने भन्दै समिक्षा गरेर मन्त्रिपरिषद् परिवर्तन गर्नुपर्ने बताए ।

इलामको सुर्योदय नगरपालिकामा बजेट, नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रम उद्घाटन गर्न पुगेका खनालले पत्रकारसँग कुरा गर्दै मन्त्रिमण्डलका बारेमा राम्रोसँग समिक्षा गर्न आवश्यक रहेको बताए।

‘मन्त्री परिवर्तनका बारेमा हामी सोचिरहेका छौं’, उनले भने। भारतीय गुप्तचर संस्थाका प्रतिनिधिले सरकारका प्रतिनिधि र नेताहरुलाई भेटेको भन्ने कुरा कुटनीतिक आचारसंहिता विपरीत भएको उनको भनाइ छ। ‘विदेशी सरकारको प्रतिनिधित्व गरेर आउनेले परराष्ट्र मन्त्रालयमार्फत भेटघाट गर्नुपर्ने हुन्छ’, उनले भने, ‘कोड अफ कण्डक्ट सबैले पालन गर्नुपर्ने हुन्छ।’

प्रधानमन्त्रीले ‘रअ’ का प्रतिनिधिलाई भेटेको कुरा गलत भएको उनको दाबी छ। स्कुल विभाग बनाउने विवाद पार्टीभित्र नभएको भन्दै उनले मिडियाले विवादको हल्ला चलाएको आरोप लगाए। खनालले अब बस्ने सचिवालयको बैठकले केन्द्रीय सदस्यको जिम्मेबारी तोक्ने बताए।

पार्टी एकिकरण मुलभुत रुपमा भए पनि सबै काम बाँकी रहेको उनले बताए। सरकारको कार्यशैलीका बारेमा सोधिएको प्रश्नमा खनालले आधारभुत कुरामा सहमति जनाए पनि कतिपय कुरा सुधार गर्नुपर्ने रहेको प्रष्ट पारे।