झलनाथको ओलीलाई चेतावनी सरकार र पार्टीबाटै हटाउन नपरोस् - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

झलनाथको ओलीलाई चेतावनी सरकार र पार्टीबाटै हटाउन नपरोस्



आजदेखि नेकपाको स्थायी समिति बैठक सुरु हुँदैछ । बैठकमा सरकारको समीक्षाले प्राथमिकता पाउने निश्चित छ । नेकपाको एउटा पक्ष सरकार र पार्टी संचालनको शैलीबाट असन्तुष्ट छ । असन्तुष्ट पक्षमध्येका झलनाथ खनाल पनि एक हुन् । उनै खनालसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

स्थायी समिति बैठकमा केके विषयमा छलफल हुन्छ । ?
स्थायी समिति बैठक लामो समयको प्रतिक्षापछि बस्दै छ । आजदेखि बस्ने बैठकमा वैचारिक र सांगठनिक विषयका छलफल गर्नेछ । खासगरी पार्टीको एकीकरण प्रक्रिया टुङ्ग्याउने भन्ने विषय प्राथमिकतामा पर्छ । सबै संगठनको एकता प्रक्रियाबारे छलफल गर्छौँ । केन्द्रिय समितिको कार्य विभाजन र पोलिटव्यूरो गठनको सवाल पनि छ । एजेण्डा धेरै छन् ।

तपाई सरकारको आलोचकको रुपमा देखिनुभएको छ । बैठकमा सरकारको समीक्षा हुन्छ ?
सरकारले जुन गति लिनुपर्ने हो त्यो लिन सकेको छैन । सरकारले किन काम गर्न सकेन भन्ने विषय पनि छलफलमा आउँछ । हामी सरकारले प्रभावकारी काम गर्न नसक्नुको कारणहरु खोज्छौँ ।

पार्टी संचालनमा पनि तपाईको असन्तुष्टी हो ?
पार्टी पनि ठीक ढंगले चलिरहेको छैन । त्यसैले पार्टीको गतिलाई तीब्रता र प्रभावकारी बनाउनका लागि हामी छलफल गर्छौँ । ७ लाख पार्टी सदस्य छन् । ति सबैलाई क्रियाशील बनाउने, पार्टीलाई गतिशिल र चलायमान बनाउनका लागि हामी तयार हुनुपर्छ ।

सरकारले काम गरेन भन्नुभयो । केपी ओली प्रधानमन्त्री भएको ९ महिना मात्रै भएको छ । आलोचना र समिक्षा गर्ने बेला भइसक्यो र ?
देश डुबाइसकेपछि आलोचना गर्ने हो र ? सरकारले ठीक समयमा ठीक काम गर्नुपर्छ । जतिबेला काम गर्नुपर्ने हो त्यसबेला नगरेपछि नतिजा राम्रो आउँदैन । यो ९ महिनामा जे काम गर्न सकिन्थ्यो त्यो काम सरकारले गरेको छैन ।

आफ्नै दलभित्रबाट सरकारको आलोचना हुँदा काम गर्न झन गाह्रो हुँदैन ?
हामीले आलोचना गर्यौँ भनेर कोही पनि दुखी हुनुहुँदैन । हामीले त सिङ्गो देश र पार्टीको हितका लागि सुझाब दिएका हौँ । सरकारले आफ्ना कमी कमजोरीलाई सच्याउनुपर्छ ।

तपाईहरुले सरकारको आलोचना गरेकै कारण प्रधानमन्त्री केपी ओली असन्तुष्ट बन्नुभएको छ नि ?
त्यो त स्वभाविक कुरा हो । हामीले बसेर छलफल गर्नैपर्छ । बल्ल बैठक बस्दैछ । अब सबै कुरामा छलफल गर्छौँ ।

तर प्रधानमन्त्रीकै सामु बैठकमै सरकारको आलोचना गर्न सक्नुहोला र ?
हामी प्रधानमन्त्रीका सामु दब्नुपर्ने कुनै जरुरी छैन । केपी ओली भनेको राजा महाराज हो र ? कि सन्त महन्त हो ? उहाँलाई हामीले नै अध्यक्ष र प्रधानमन्त्री बनाएको हो । दिएको जिम्मेवारी पूरा भयो कि भएन भनेर हामी निर्धक्कसँग बोल्न सक्छौँ ।

तर तपाईहरुले सचिवालय बैठक बहिष्कार गर्दा त ओलीलाई कुनै प्रभाव परेन । निर्णय गराउनुभयो ।
कम्युनिष्ट पार्टीमा सही र गलतका आधारमा निर्णय हुन्छ । अल्पमत र बहुमतका आधारमा निर्णय हुँदैन । हामीले बहिष्कार गरेपछि भएको निर्णयप्रति हाम्रो आपत्ति छैन ।

केपी ओलीको नेतृत्व असफल भयो भन्ने तपाईको ठहर हो ?
हामी सरकार र पार्टीले गति लिनुपर्छ भन्ने चाहन्छाँै । हामीले चाहे जस्तो गति नआउने हो भने त अहिलेको नेतृत्वमाथि गम्भीर प्रश्न उठ्छ । पार्टी र सरकारको नेतृत्व परिवर्तनबारे पनि सोच्नुपर्ने हुन्छ । तर अहिले नै हामी अन्यथा कुरा गर्दैनाँै । पार्टी र सरकारको काम प्रभावकारी बनाउने विषयमा मात्रै केन्द्रित छौँ । पार्टी गतिशिल भएन भने प्रधानमन्त्री आफै डुब्नुहुन्छ । हामी पनि डुब्र्छौँ । त्यसैले हामी कसैलाई पनि डुब्न दिदैनाँै ।