झलनाथले ओलीलाई भने : मनपरी नगर्नुस, एमाले पार्टी तपाईको घर होइन - Himal Post Himal Post
  • १२ माघ २०८२, आईतवार
  •      Sun Jan 25 2026
Logo

झलनाथले ओलीलाई भने : मनपरी नगर्नुस, एमाले पार्टी तपाईको घर होइन



पत्रपत्रिका/नयाँपत्रिका/काठमाडौं-

राष्ट्रपतिमा उम्मेदवारी दर्ता गर्ने अघिल्लो दिन मात्र एमालेले स्थायी समिति बैठक बोलाएको थियो । औपचारिक र अनौपचारिक गरी पटक–पटक बसेको बैठकले राति १२ बजे मात्र भण्डारीको पक्षमा निर्णय गरेको थियो । अध्यक्ष केपी ओलीले समझदारीका लागि शीर्ष नेताहरूलाई बिहानै बालुवाटार बोलाएका थिए ।

छलफलमा माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र ईश्वर पोखरेललगायत सहभागी थिए । अध्यक्ष ओलीले राष्ट्रपति पदको गरिमा राख्न पनि पार्टीबाट सर्वसम्मत उम्मेदवार छान्नुपर्ने भन्दै विद्या भण्डारीको पक्षमा निर्णय गराउने आशय प्रकट गरेका थिए ।

ओलीको कुरा सुनेर आक्रोशित बनेका खनालले पार्टीमा छलफल नै नगरी त्यत्रो समझदारी कसरी भयो र अहिलेसम्म किन जानकारी भएन भन्ने प्रश्न गरेका थिए ।

उनले इतिहासदेखि नै पार्टी पद्धतिका आधारमा चल्दै आए पनि अहिले कसैको घरजस्तो गरी चलाउन थालिएको आरोप लगाएका थिए ।

‘पार्टी महासचिव र अध्यक्षका रूपमा मैले पनि पार्टी हाँकेको छु, अरू नेताले पनि पद्धतिका आधारमा पार्टी चलाएका थिए, तर तपार्इंले सबै पद्धति मिच्नुभएको छ, कुनै नेताको राय पनि लिनुनपर्ने यो पार्टी के तपाईंको घर हो ?’ उनको प्रश्न थियो ।

खनालले आफु राष्ट्रपतिको उम्मेदवार बन्न चाहेको र यो विषयमा पार्टीको आधिकारिक निकायमा छलफल हुनुपर्ने प्रस्ताव पनि राखेका थिए ।

खनालको आक्रोश ओलीले खासै प्रतिक्रिया दिएनन्, बरु संसद् बैठकका लागि सबै नेता बानेश्वरतर्फ लागे ।