झलनाथ खनाल गम्भीर: उपचारका लागि दिल्ली लैजाने तयारी
काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । उनलाई थप उपचारका लागि भारतको नयाँदिल्ली लैजाने तयारी गरिएको छ।
नेकपा एमालेका नेतासमेत रहेका उनलाई लगातार ज्वरो आइरहेको र रगतमा हेमोग्लोबिनको कमी भएको छ । काठमाडौंको नर्भिक अस्पताल भर्ना गरिएका खनाललाई थप उपचारका लागि अहिले साढे १२ बजे जहाजबाट दिल्ली लैजाने तयारी गरिएको उनको सचिवालयले जानकारी दिएको छ।
खनालसँगै उनकी श्रीमती, छोरा र एक जना चिकित्सक दिल्ली जानेछन्। दिल्लीस्थित एपोलो अस्पतालमा उनलाई उपचार गर्ने बताइएको छ । खनाललाई ९ दिन ज्वरो आएपछि नर्भिक अस्पताल भर्ना गरिएको थियो।