रामकुमारी झाँक्रीले भनिन : प्रधानमन्त्रीज्यू लथालिङ्ग नपारौं - Himal Post Himal Post
  • ८ माघ २०८२, बुधबार
  •      Wed Jan 21 2026
Logo

रामकुमारी झाँक्रीले भनिन : प्रधानमन्त्रीज्यू लथालिङ्ग नपारौं



काठमाडौं । सत्तारूढ दलकी सांसद रामकुमारी झाँक्रीले गुठी विधेयक फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनुरोध गरेकी छन् । उनले सामाजिक सञ्जालमा लामो स्ट्याटस लेख्दै काठमाडौंका निजी गुठीयारहरूको भावनालाई तत्काल सम्बोधन गर्न अनुरोध गरेकी छन् ।

“बेलायत ( युरोप) को भ्रमण सफलतापूर्वक सम्पन्न गरी फर्किनु भएकोमा पार्टी अध्यक्ष तथा सम्माननीय प्रधान मन्त्री केपी शर्मा ओलीज्यूलाई हार्दिक स्वागत गर्छु । यता काठमाडाैँमा जनता दिनदिनै सडकमा छन् । खास गरी काठमाडौंका निजी गुठीयारहरू र उहाँहरूको भावना संस्कृति र सम्पदासंग जोडिएको छ । उपत्यका बाहिरको गुठीको समस्या र प्रकृति फरक छ । राज गुठी, सार्वजनिक गुठी, निजी गुठी वा जे नाम होस, एउटै नामभित्रका गुठीको ठाउँ अनुसार प्रकृति पनि फरक छ । तिनको सम्बोधन पनि फरक फरक ढंगबाट गर्नुपर्छ,” उनले लेखेकी छन् ।

विद्यमान विधेयकमा भएका व्यवस्थाले भावनात्मक रूपमा सम्बोधन गर्न नसकेको बताउँदै अनुरोध गरेकी छन्, “यस कारण सरकारले यो विधेयक फिर्ता लिई अर्को मस्यौदा गर्न उचित हुन्छ ।” उनले कार्यविभाजन नहुँदा पार्टीभित्र नेता–कार्यकर्ता जिम्वेवारविहीन र सम्वादविहीनताको अवस्था सिर्जना भएकाले त्यसको निकाससमेत खोजेकी छन् ।

“पार्टी जीवन लथालिङ्ग छ । कसैलाई जिम्मेवारीमाथि जिम्मेवारी कसैलाई पराइ जस्तो देखिने व्यवहार भएको छ । जंगबहादुरले पनि युरोपबाट फर्केपछि केही सुधारका काम गरेका थिए । चन्द्रशमसेरले पनि नौवटा सुधारका काम गरेका थिए । अध्यक्ष नेपाली जनताले अभिभावकीय जिम्मेवारीको अपेक्षा गरेका छन् । पार्टी कार्यकर्ताले न्यायोचित जिम्मेवारीको अपेक्षा गरेका छन,” उनले ओलीसमक्ष अनुरोध गरेकी छन् ।