नेकपाको जनसभामा रामकुमारी झाँक्रीको क्रेज - Himal Post Himal Post
  • २० बैशाख २०८१, बिहीबार
  •      Thu May 2 2024
Logo

नेकपाको जनसभामा रामकुमारी झाँक्रीको क्रेज



काठमाडौ । नेकपा प्रचण्ड-माधव पक्षले आयोजना गरेको बृहद जनसभामा पार्टी नेतृ रामकुमारी झाँक्रीको क्रेज देखिएको छ । सभामा सम्बोधनका लागि कार्यक्रम सञ्चालकले नेतृ रामकुमारी झाँक्रीलाई बोलाउँदा उनको पक्षमा सहभागीहरूले चर्को हुटिङ गरेका थिए ।

मुखमा टेप टाँसेर आएकी झाँक्रीले टेप खोल्दै सभालाई सम्बोधन गरिन। झाँक्रीले प्रधानमन्त्री केपी ओलीलाई कागजी बादशाहको संज्ञा दिँदै उनले आजको विरोध कार्यक्रममा उपस्थित जनताले उनी ढलिसकेको संकेत गरेको र अब घोषणा गरेको पनि जिकिर गरिन् ।

उनले संविधानको चीरहरण गर्नेविरुद्ध बोल्न पाइन्छ भन्दै अँध्यारोमा षड्यन्त्र गर्नेहरुविरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिइन् । उनले राष्ट्रपति संस्था सम्माननीय भएपनि त्यो संस्थामा रहेका व्यक्तिले गर्ने षड्यन्त्र विरुद्ध बोल्न कसैले रोक्न नसक्ने चेतावनी दिइन् ।

‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ । नागरिकको मुखमा टेप टाँसिएको छैन,’ उनले भनिन्, ‘सर्वसत्ताबादको विरुद्ध बोल्न पाइन्छ । संविधानको चिरहरण गर्ने विरुद्ध बोल्न पाइन्छ ।’ नागरिकहरु सार्वभौम सम्पन्न भएको जिकिर गर्दै उनीहरुको बोल्ने अधिकारलाई कसैले कुन्ठित गर्न नसक्ने जिकिर गरिन् । ‘आज दरबारमा जस्तै रजाइँ गर्नेहरु संघर्षका कठिन दिनहरुमा कहाँ थिए भन्ने दुनियाँलाई हिसाब किताब थाहा छ,’ उनले भनिन् ।

‘यो राष्ट्रपति सम्माननीय संस्था हो । हाम्रो बलिदानीले प्राप्त संस्था हो । हाम्रो शिरमाथिको संस्था हो । तर त्यो संस्थाका विरुद्ध बोल्ने दुस्साहस मैले गरेको छैन’, झाँक्रीले भनिन्,‘त्यो संस्था निरंकुशताको साक्षी बस्छ, त्यसको एउटा प्यादा बन्छ भने त्यस्ता पात्रको विरुद्ध बोल्न पाइन्छ’, झाँक्रीको भनाइ छ ।