ओलीलाई झाँक्रीको चेतावनी: गैरकानुनी काम गर्नेले हामीलाई कारबाही गर्ने होइन, आफूले राजीनामा देउ - Himal Post Himal Post
  • ६ माघ २०८१, आईतवार
  •      Sun Jan 19 2025
Logo

ओलीलाई झाँक्रीको चेतावनी: गैरकानुनी काम गर्नेले हामीलाई कारबाही गर्ने होइन, आफूले राजीनामा देउ



काठमाडौं- नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले अध्यक्ष केपी ओलीले असंवैधानिक काम गरेकाले अध्यक्ष पद छाड्नुपर्ने भन्दै आफूहरूलाई कारबाही गर्ने हैसियत नभएको बताएकी छन् । उनले ओलीलाई संयमित भएर एकताको पक्षमा केन्द्रित हुन समेत आग्रह गरेकी छिन् ।

पटक-पटक असंवैधानिक र गैरकानुनी काम गर्दै अघि बढेका अध्यक्षले आक्रोशमा अन्य सदस्यलाई कारबाही गर्ने नभई संयमित भएर अघि बढ्नुपर्ने धारणा झाँक्रीको छ ।

‘हामीहरूमाथि साेधिने स्पष्टीकरण पार्टीको विधान र संविधानको धाराले चिन्दैन । ओलीले यसअघि गरेका कारबाहीको पनि कुनै तुक थिएन । यसको पनि कुनै औचित्य छैन,’ उनले भनिन् ।

एमालेको केन्द्रीय कमिटी बैठकले २२ जना सांसदलाई कारबाहीपूर्व स्पष्टीकरण सोधेको छ । २४ घण्टे स्पष्टीकरणपछि उनीहरूलाई कारबाही गर्ने एमालेको तयारी छ । यसै कदमकाे जवाफ दिँदै उनले ओलीलाई थप गल्तीहरू गर्दै जानुको साटाे अवैधानिक कदम सच्याउन चुनौती दिएकी हुन् ।

‘हामीले संविधान र संसदलाई जोगाएर कुनै पनि अपराध गरेका छैनौँ । बरु दुईतिहाइको कम्युनिस्ट पार्टी र सरकारको अवसान गराउँदै उहाँले गल्ती गर्नुभएको छ । आफ्नो गल्तीप्रति क्षमा माग्दै संयमित ढंगले अध्यक्ष ओली एकताको पक्षमा उभिनुपर्छ,’ उनले भनिन् ।

एमाले एकताका लागि अध्यक्षबाट राजीनामा आवश्यक परे ओलीले राजीनामा दिनुपर्ने झाँक्रीको भनाइ छ । संविधान र संसदमाथि पटक-पटक धावा बोलेका ओलीले आफ्नो गल्तीप्रति माफी माग्नुपर्ने झाँक्री बताउँछिन् ।