ओली नेकपाको निर्वाचित अध्यक्ष होईनन्, पार्टीले हटाउन सक्छ: सांसद झाँक्री
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा विवाद चर्किएकै बेला नेकपाकी केन्द्रीय सदस्य तथा सांसद रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन सकिने बताएकी छन् ।
झाँक्रीले पार्टी एकतालाई जोगाउनको लागि र अहिलेको विवाद हल गर्न सबैभन्दा पहिले वर्तमान प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विधि, पद्धती र विधान मान्नुपर्ने समेत बताएकी छन् । सोमबार एक टेलिभिजन संग कुरा गर्दै उनले बिधि र प्रक्रिया नमान्नेले नै पार्टी र सरकारको बदनाम गरेको बताएकी छन् ।
नेतृ झाँक्रीले आफ्नो विचार प्रस्तुत गर्दै प्रधानमन्त्री ओलीले आफू महाधिवेशनबाट निर्वाचित अध्यक्ष हो भन्नुको कुनै तुक नभएको बताएकी छन् । उनको दाबी अनुसार त्यो तत्कालिन एमालेको महाधिवेशन भएको र यो पार्टी नेपाल कम्युनिस्ट पार्टी नेकपा भएको बताएकी थिइन् ।
त्यतिमात्र नभइ नेतृ झाँक्रीले महाधिवेशनको बैधता पनि सकिएको बताएकी छन् । ओलीले आफू महाधिवेशनबाट निर्वाचित अध्यक्ष हो भन्नुको अब कुने बैद्यता नभएको पनि जिकिर गरिन् ।
तत्कालिन नेकपा एमालेको महाधिवेशन भएको पाँच वर्ष पूरा भई ६ वर्ष पुगेकोले अब महाधिवेशनबाट निर्वाचित अध्यक्षको कुनै बैद्यता नभएको उनको भनाई छ ।
उनले ओली नेकपाको निर्वाचित अध्यक्ष नभएकोले पार्टी केन्द्रीय कमिटीले चाहे हटाउन सक्ने स्पष्ट पारिन् ।