माओवादी छोडेपछि मालामाल: झा लाई नेकपा (एस)मा चिट्ठा
काठमाडौं- नेकपा माओवादी केन्द्र छोडेका रामचन्द्र झा नेकपा एकीकृत समाजवादीको सचिवालय सदस्यमा मनोनीत भएका छन् । माओवादी केन्द्र परित्याग गरेका झा औपचारिक रूपमा पार्टी प्रवेश नगर्दै एकीकृत समाजवादीको केन्द्रीय सचिवालय सदस्यमा मनोनीत भएका हुन् ।
एकीकृत समाजवादीका उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले माओवादी केन्द्र छोडेका झालाई बुधबार बसेको केन्द्रीय कमिटी बैठकले सचिवालय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको जानकारी दिए ।
झा धनुषामा ६ मंसिरमा हुने एकीकृत समाजवादीको आमसभालाई सम्बोधन गर्दै औपचारिक रूपमा पार्टी प्रवेश गर्ने कार्यक्रम तय भएको छ । तर, झाले त्यसअघि नै सचिवालय सदस्यको जिम्मेवारी पाएका हुन् ।
माओवादी केन्द्रमा अपेक्षाकृत कार्यसम्पादन गर्न नसकेकाले आफू एकीकृत समाजवादीमा प्रवेश गर्न लागेको झाले बताएका थिए । झा एमाले पृष्ठभूमिका नेता हुन् । नेपालगञ्जमा भएको एमालेको छैठौँ महाधिवेशनमा उनी वैकल्पिक केन्द्रीय सदस्य भएका थिए ।
जनकपुरमा भएको सातौँ महाधिवेशनबाट केन्द्रीय सदस्य भएका उनी एमालेको आठौँ महाधिवेशनबाट पोलिटब्युरो सदस्यमा निर्वाचित भएका थिए । संविधान निर्माणका एजेण्डामा विमति भएपछि एमाले छोडेर माओवादीमा प्रवेश गरेका झा नयाँ शक्ति पार्टीका नेता पनि बने । ४ भदौ २०७४ मा उनी नयाँ शक्ति छाडेर फेरि माओवादी केन्द्रमा प्रवेश गरेका थिए ।
यस्तै, डा. बंशीधर मिश्रलाई पनि पार्टीको स्थायी कमिटी सदस्यमा मनोनीत गरिएको खतिवडाले जानकारी दिए । बंगलादेशका लागि नेपाली राजदूतका रूपमा कार्यरत मिश्रलाई कात्तिक दोस्रो साता सरकारले फिर्ता बोलाएको थियो । राजदूत हुनुअघि मिश्र एमालेको केन्द्रीय सदस्य थिए ।