कैैैलालीका विभिन्न ठाउँमा जेष्ठ नागरिकहरुलाई सम्मान
लोकेन्द्र रावल / टीकापुर,कैैैलाली ।
टीकापुर नगरपालिकाले सोमबार २० जनालाई सम्मान गरेको छ । ‘ज्येष्ठ नागरिक मानव अधिकार अभियन्ताहरुको अभिनन्दन गरौं’ भन्ने मुल नाराका साथ टीकापुर नगरपालिकाले २८ औं अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवसका अवसरमा वडा नं. १ देखि ९ सम्मका २० जना ज्येष्ठ नागरिकलाई सम्मान गरेको हो ।
वडा नं. १ बाट १०२ वर्षीया विन्द्रा कार्की, ९४ वर्षका खगेन्द्र प्रसाद भट्टराई जैशी, वडा नं. २ बाट ९५ वर्षीया सेती देवी शाह, भोकवहादुर थापामगर, वडा नं. ३ बाट १०५ वर्षिया फिरिया थरुनी, ९० वर्षका मान सिंह बिष्ट, वडा नं. ४ बाट ८९ वर्षिया मुसिया द.थरुनी, ९५ वर्षका कासीनाथ उपाध्याय, वडा नं. ५ बाट १०२ वर्षिया भुठारी थारु, १०२ वर्षिया हिरामोती थरुनी, १०२ वर्षका दुर्वल दास थारु, वडा नं.६ बाट ८९ वर्षका सेतुराम डगौरा थारु, ९० वर्षिया विमा टमट्टालाई सम्मान गरिएको छ ।
त्यस्तै वडा नं. ७ बाट १०० वर्षिया झमकला देवी साहु, ८६ वर्षका नरवहादुर कार्की, वडा नं. ८ बाट ९३ वर्षिया पदमा देवी साउँद, ९८ वर्षका मुनीराम जोशी, वडा नं. ९ बाट ९० वर्षिया चनिया थरुनी, ९२ वर्षका जय साउँद र वृद्ध सेवा समिति टीकापुरका मदनराज रेग्मीलाई सम्मान गरिएको हो ।
उनीहरुलाई टीकापुर नगरपालिकाक निमित्त नगर प्रमुख गंगाराम आचार्यले दोसल्ला आढोई सम्मान गर्नुभएको थियो । साथै टर्चलाईट पनि उपहार दिनुभएको थियो ।
टीकापुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिराम चौधरीले स्वागत गर्नुभएको कार्यक्रममा महिला बालबालिका तथा सामाजिक कल्याण उपशाखाका प्रमुख निर्मला रावलले शाखाले गर्दै आएको कामको बारेमा जानकारी दिनुभएको थियो ।
कार्यक्रममा टीकापुर साना शहरी खानेपानी तथा सरसफाई संस्थाका अध्यक्ष नवराज रावल, पत्रकार महासंघ सुदूरपश्चिमका उपाध्यक्ष दुर्गा प्रसाद भण्डारी, ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख शिववहादुर सिंह लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले ज्येष्ठ नागरिकको माया र सम्मान सबैले गर्नुपर्ने बताए । वक्ताहरुले ज्येष्ठ नागरिकहरुलाई कसरी खुशी दिन सकिन्छ त्यस तर्फ ध्यान दिन जरुरी रहेको बताएका थिए । टीकापुर नगरपालिका निमित्त नगर प्रमुख गंगाराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रमको संचालन प्रशासकिय अधिकृत रञ्जु आचार्यले गर्नुभएको थियो ।
यसै गरी २८ औं जेष्ठ नागरिक दिवसको अवसर पारेर कैलालीको जोशीपुरमापनि जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडाध्यक्ष बिधिराम चौधरीले स्वागत गर्नुभएको उक्त कार्यक्रममा ७ जना जेष्ठ नागरिकलाई बिशेष सम्मान र अन्य ३० जनालाई सम्मान गरिएको थियो ।
जेष्ठ नागरिकलाई महिला संघकी नेतृ सरस्वति श्रेष्ठ, वडाध्यक्ष लखनलाचौधरी, जंगबहादुर डगौंरा , नाथुरामचौधरी र किशोर कठरियाले जष्ेठ नागरिकलाई सम्मान गर्नुभएको थियो । ‘जेष्ठ नागरिकलाई ससम्मान बाच्न पाउने अधिकारको रक्षा गर्नुपर्छ भन्ने हो ,’ वडाध्यक्ष बिधिराम चौधरीले भन्नुभयो ,‘ उमेर हुदासम्म श्रम खर्चने नागरिकलाई उमेर पुगेपछि बाच्न आधारको व्यबस्था राज्यले गर्नुपर्छ ।’