जर्सी नम्बर र देश स्वतन्त्रताको ७३ वर्ष मिलाएर सन्यास घोषणा - Himal Post Himal Post
  • ४ आश्विन २०८१, शुक्रबार
  •      Fri Sep 20 2024
Logo

जर्सी नम्बर र देश स्वतन्त्रताको ७३ वर्ष मिलाएर सन्यास घोषणा



एजेन्सी- सुरेश रैना र उनका ‘मेन्टर’ महेन्द्रसिंह धोनीले यही शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे ।

जब धोनीले इन्स्टाग्राममा दुई लाइनको वाक्य लेख्दै क्रिकेटबाट संन्यास लिएको घोषणा गरे, त्यसपछि लगत्तै सुरेशले धोनीसँग बसेको फोटो पोस्ट गर्दै आफू पनि धोनीको यात्रामा सँगै रहेको भन्दै संन्यासको घोषणा गरे ।

तर के यो स्वभाविक घोषणा थियो त ? अहिले उनीहरुका प्रशंसक, खेलप्रेमी र विज्ञहरुले सोध्न थालेका छन् । सुरेशले अचानक खेलबाट अवकाश लिने निर्णय गरेका थिए कि, धोनीसँग सल्लाह गरे ?

यसबारे धेरैले चासो देखाएका छन् । हालै रैनाले भारतीय अखबार दैनिक जागरणमा खुलासा गरेका छन् कि, उनीहरु शुक्रबार आईपीएलको प्री–सिजन क्याम्पमा चेन्नइ जानुअघि नै अवकाशको निर्णयबारे सल्लाह गरेका थिए ।

‘मलाई थाहा थियो कि, धोनीले चेन्नइ पुग्दा अवकाशको घोषणा गर्नेछन् भनेर । यसैले म पनि तयार थिएँ,’ रैनाले भनेका छन् । रैनाले अघि भनेका छन्, ‘हामीले अगस्ट १५ मा नै सल्लाह गरिसकेका थियौँ, मही भाइको जर्सी नम्बर ७ र मेरो ३ हो । यसलाई सँगै मिलाउँदा ७३ हुन्छ । शनिबार देशको स्वतन्त्रताको ७३ वर्ष पुगेको अवसर भन्दा राम्रो अरु दिन हुन सक्दैनथ्यो ।’

चेन्नइ सुपरकिङ्सको ट्वीटर ह्यान्डलबाट पनि रैना र धोनीको अवकाशको घोषणा गर्दाको भिडियो सार्वजनिक भएको छ । जहाँ रैना भावुक बन्दै धोनीलाई अंकमाल गरेका छन् ।

रैनाले अवकाश घोषणाको क्षणमा अंकमाल गरेको र आपसमा रोएको पनि बताएका छन् । पियुष, अम्बाती रायुदु, केदार जादभ र कर्ण त्यसपछि सँगै बसेको र करिअर र सम्बन्धबारे कुराकानी गरेको रैनाले बताएका थिए । साथै आफूहरुले रातभर पार्टी गरेको पनि दैनिक जागरणसँग बताएका छन् ।