जेनेभा पुगेर यसो भने प्रम ओलीले - Himal Post Himal Post
  • २४ माघ २०८२, शुक्रबार
  •      Fri Feb 6 2026
Logo

जेनेभा पुगेर यसो भने प्रम ओलीले



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र र बाहिर रहेका सबै नेपालीको साथ र सहयोग लिएर देश विकासलाइ तीव्ररुपमा अघि बढाउने अभिभारा वर्तमान सरकारले ग्रहण गरेको बताएका छन् । संयुक्त राष्ट्रसङघ तथा अन्य अन्तरराष्ट्रिय सङ्गठनका लागि जेनेभास्थित नेपाली स्थायी नियोगले आइतबार साँझ गरेको स्वागत समारोहमा प्रधानमन्त्री ओलीले विगतमा ठूलो सङ्घर्ष तथा संविधान निर्माणको अगुवाइ लिएर आएको अहिलेको सरकार यो जिम्मेवारीप्रति सचेत रहेको उल्लेख गरे ।

लामो बलिदानपूर्ण सङ्घर्षपछि जनताले ठूलो विश्वास यो सरकारलाइ सुम्पेको उल्लेख गर्दै प्रधानमन्त्रीले सुशासन र तीव्र आर्थिक वृद्धि नै सरकारको मुख्य ध्येय रहेको बताए । उनले भने, ‘जनताको विश्वासलाई मर्न नदिई प्रविधिको प्रयोग गरेर देशलाई सुशासन र आर्थिक गतिका साथ अगाडि बढाउन देशभित्र र बाहिर रहेका सबैको साथ, सहयोग र विश्वास आवश्यक छ ।’ गैरआवासीय नेपाली नागरिकतासम्बन्धी विषयको माग र भावनाप्रति आफु जानकार रहेको प्रधानमन्त्रीले उल्लेख गरे ।

प्रधानमन्त्री ओलीलाई जेनेभास्थित नेपाली स्थायी प्रतिनिधि तथा स्वीट्जरल्याण्डका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गरेको भ्रमणमा सहभागी रेडियो नेपालका नरेश फुयाँलले जानकारी दिए । प्रधानमन्त्री ओलीले त्यस अवसरमा स्वीट्जरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गरेका थिए ।

गैरआवासीय नेपाली नागरिक सङ्गठन स्वीट्जरल्याण्डका अध्यक्ष मणिराज गुरुङसहितका वक्ताले समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य साकार पार्ने प्रयास गर्दै मातृभूमिको सेवा र निकटतालाई प्रवासमा रहेका नेपालीले निरन्तरता दिन चाहेको बताए ।