जातीय छुवाछुत अन्त्य गर्नु पर्छ :ओली - Himal Post Himal Post
  • १ पुष २०८२, मंगलवार
  •      Tue Dec 16 2025
Logo

जातीय छुवाछुत अन्त्य गर्नु पर्छ :ओली



काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले हरेक नेपालीलाई जातीय छुवाछुत र भेदभावविरुद्व दृढतापूर्वक उभिन आह्वान गरेका छन्।

जातीय छुवाछूत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना प्रदान गर्दै सबै नेपाली एक भएर लागेमा छुवाछुत प्रथा विगतका दास प्रथा, सतीप्रथा, कमैया प्रथाजस्तै सधैँको लागि समाप्त हुने बताएका छन्।

प्रधानमन्त्री ओलीले ०६३ जेठ २१ मा तत्कालीन संसद्ले नेपाललाई छुवाछुतमुक्त राष्ट्र घोषणा गरेको स्मरण गर्दै राज्यको कानुन, सभ्य समाज, मानवता र आधुनिक राष्ट्रका लागि जातीय छुवाछुत गम्भीर चुनौती भएको बताएका छन्।

प्रधानमन्त्रीको शुभकामनामा उल्लेख छ, ‘छुवाछुत सामाजिक र नैतिक भ्रष्टाचार तथा मानवीय गरिमाविरुद्धको अपराध हो, छुवाछूत गर्नेलाई उन्मुक्ति दिइने छैन र यो हाम्रो प्रतिबद्धता हो।’ उनले नेपालको संविधानको प्रस्तावनामै सबै प्रकारका जातीय छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समतामुलक समाज निर्माण गर्ने संकल्प गरिएको समेत बताएका छन्।

प्रधानमन्त्री ओलीले दलितको हकअन्तर्गत दलित समुदायको सशक्तीकरण, प्रतिनिधित्व र सहभागिताका लागि विशेष व्यवस्थाको प्रत्याभूति संविधानले गरेको भन्दै संविधान कार्यान्वयन हुने क्रममा भएको स्थानीय तहको निर्वाचनबाट दलित समुदायको प्रतिनिधित्व २२ प्रतिशत पुगेको बताउन पाउँदा आफूले खुसी महसुस गरेको उल्लेख गरेका छन्। नेपालमा विसं २०६८ जेठ २१ देखि जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवस मनाउँदै आइएको छ।