जथाभाबी सहिद घोषणा गर्नाले सच्चा सहिद प्रति नै अपमान हुन्छ । - Himal Post Himal Post
  • १८ माघ २०८२, शनिबार
  •      Sat Jan 31 2026
Logo

जथाभाबी सहिद घोषणा गर्नाले सच्चा सहिद प्रति नै अपमान हुन्छ ।



कर्ण बहादुर अधिकारी मकाउ,चीन।

नेपालमा बि सं २०१२ साल माघ १६ गते देखि नै सहिद दिवस मनाउँदै आए पनि हाल सम्म नेपालमा कति सहिद भए भन्ने बारे सरकारसँग नै यकिन अभिलेख छैन।२०६५ साल पौष ९ गते सम्ममा ६ हजार ३४४ जनालाई सहिद घोषणा गरेको जनाए पनि यो नै आधिकारिक र यकिन तथ्याङ भने होइन।यसरी शहीदहरूको तथ्याङ्क राष्ट्रले नराख्नु दुर्भाग्य पूर्ण कुरा हो।नेपालका प्रथम सहिद लखन थापा हुन।उहाँलाई गोरखा मनकामनामा मृत्युदण्ड दिइएको थियो भने त्यस लगतै १९९७ सालमा राणा शाशकको विरुद्धमा आवाज उठाई विद्रोह गरेका कारण काठमाण्डौमा ४ जना जवान युवाहरू गंगालाल,दशरथ चन्द्र,शुक्रराज र धर्म भक्तलाई झुन्डाएर र गोली हानेर मारिएको थियो।

लखन थापा र चार जना सहिदको स्मरणमा २०१२ साल माघ १६ गतेबाट विविध कार्यक्रमका साथ मनाएको सहिद दिवसलाई अहिले सम्म निरन्तरता दिँदा गौरव गर्नु पर्छ नै तर पनि वर्तमान समय सम्म आई पुग्दा विभिन्न आन्दोलन र झगडाहरूमा मारिएकाहरूलाई पनि जथाभाबी रूपमा आवश्यक मापदण्ड बिना हचुवाको भरमा सहिद घोषणा गर्ने प्रवृतिका कारण २०६२/६३ को जनआन्दोलनका क्रममा कलङ्कीमा सहादत प्राप्त गरेका सहिद स्व. प्रद्युम्न खड्काकी धर्म पत्नी प्रभा खड्काले गुनासो पोख्दै आएकी छिन।२०४६ सालको जन आन्दोलनमा मृत्यु भएकाहरूलाई नगद १ लाख सहित सहिद घोषणा सरकारले गरेको थियो भने २०६२/६३ सालको लोकतान्त्रिक आन्दोलमा मृत्युबरण गरेकाहरूलाई नगद १० लाख सहित सहिद घोषणा गरिएको थियो।

पछिल्लो समयमा गुण्डागर्दी देखि लिएर पार्टीसँग आबद्ध भई कालो धन्दा गरी रहेकाहरूलाई प्रहरीसँगको मुडभेडमा मारिए पश्चात् पछि नेताको पावरबाट सहिद घोषणा गर्नुले सच्चा सहिद प्रति न्याय गरिएको देखिँदैन।राणा शासनको अन्त्य गर्ने,पञ्चायति व्यवस्थाको अन्त्य गर्ने,राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल स्थापना गराउन आफ्नो जीवनको आहुँति दिने नै ३ करोड नेपाली जनताको मुखबाट उच्चारण हुने सच्चा सहिद हुन।