जथाभावी फोहोर फाल्दा स्थानीयको जनजीवन प्रभावित - Himal Post Himal Post
  • ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
Logo

जथाभावी फोहोर फाल्दा स्थानीयको जनजीवन प्रभावित



गोविन्द बीसी / बौनिया ,कैलाली ।

कैलालीको बर्दगोरिया गाउँपालिका अन्तर्गतपर्ने सेतीलोकमार्गसंग जोडिएको सडक छेउछाउमा जथाभावी फोहोर फाल्न थालेपछि स्थानीयको जनजीवन प्रभावित हुन थालेको छ ।

गाउँपालिकाको वडा नम्बर १ र ३ मा पर्ने सडक स्थानीय बजारको फोहोर फाल्ने अड्डाका रूपमा देखिन थालेको छ । बजारबाट ल्याएर जथाभावी फोहोर फाल्दा समेत बजार ब्यवस्थापन समिति गैरजिम्मेवार देखिएको छ । वातावरण सरसफाइ र ब्यवस्थापनका लागि गरिएका निर्णय र योजना कागजमै सीमित हुने गरेका छन् । गाउँपालिकाबाट बिनियोजन गरिएको बजेट सदुपयोग नहुदा लाखौं बजेट रकम बालुवामा पानी खन्याए सरह हुन थालेको छ ।

सयौंको संख्यामा दैनिक जसो हिंडडुल गर्ने मार्गमा मेडिकलबाट निस्केका फोहोर प्लास्टिक, काचका सीसा र सिरिन्ज फाल्ने गरेका कारण वातावरणीय प्रभाव संगै नागरिकको जनजीवनमा समेत प्रभाव पर्ने देखिन्छ । यसतर्फ गाउपालिका जनप्रतिनिधि र बजार ब्यवस्थापन समितिको ध्यान जान सकेको छैन ।

चालू आर्थिक बर्ष २०७४/०७५ मा बर्दगोरिया गाउँपालिकाबाट सरसफाइका लागि १० लाख रुपैया बजार ब्यवस्थापन समितिलाई बिनियोजन गरिएको थियो । गएको असार ५ गते बजार ब्यवस्थापन समितिले बजारमा रहेका पुराना बन्द नाली सरसफाइ, बजार चौराहमा रहेका खाल्डाखुल्डीमा ग्राबिल गर्ने र बजार क्षेत्रमा फोहोर ब्यवस्थापनका लागि डिब्बा राख्ने निर्णय गरेको भएपनि कागजमा सीमित भएको छ । बजारमा ढल निकास नहुदा डुबानको समस्या छ भने, मुख्य बजार चोकमा ग्राबिल नहुदा बजेट दुरुपयोग भएको स्थानीयले बताउदै आएका थिए । उक्त विनियोजित रकम काम समयमै सम्पन्न नहुदा निकासा नभएको बजार ब्यवस्थापन समितिका अध्यक्ष रुपक सुनारले बताएका छन् ।

नजिकै शसस्त्र अस्थायी बेस क्याम्प छ तरपनि यसतर्फ कसैले चासो देखाएका छैनन् । कस्ले यसरी जथाभावी फोहोर फालेको हो । कसैको ध्यान जान नसकेको भन्दै स्थानीय बासिन्दाले चिन्ता समेत व्यक्त गरेका छन । सोही सडकमार्गमा मरेका पशु चौपाया समेत खुल्ला रूपमा नियमित फाल्दा वातावरण दुर्घन्धित बन्न थालेको छ ।