पेस्तोल देखाएर चन्दा उठाउने जसपाका नेता पक्राउ - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

पेस्तोल देखाएर चन्दा उठाउने जसपाका नेता पक्राउ



उदयपुर- जनता समाजवादी पार्टीका एक नेता अवैध हतियारसहित पक्राउ परेका छन् । जसपा उदयपुरका नेता पर्शुराम चौधरीलाई प्रहरीले बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार अवैध पेस्तोलसहित नेता चौधरी पक्राउ परेका हुन् । पक्राउ परेको चौधरीलाई प्रहरीले बिहीबार सार्वजनिक गरेको हो ।

सशस्त्र द्वन्द्वकालदेखि नै हतियार राखी चन्दा आतंक मच्चाउँदै आएको भन्ने सूचनाका आधारमा नेता चौधरीलाई अनुसन्धानका क्रममा कान्छी श्रीमती श्यामकुमारी चौधरीको घरबाट पक्राउ गरिएको एसपी भिमबहादुर दाहालले बताए ।

गोप्य सूचनाका आधारमा जिप्रकाबाट खटिएको प्रहरीको विशेष टोलीले उनलाई ९ एमएममा लाग्ने ५ थान गोली र चन्दाका रसिदसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रहरीले उनको पेस्तोल, गोली, अखिल नेपाल ट्रेड युनियन महासंघ लेखिएको ८ ठेली सहयोग रसिद, नेकपा माओवादी केन्द्र लेखिएको तीन थान सदस्यता र अखिल नेपाल निर्माण मजदुर संघ लेखिएको ८५ थान सदस्यता पत्र बरामद गरेको जनाएको छ ।

यसअघि चौधरी माओवादी द्वन्द्वकालमा माओवादीको लडाकु र त्यसपछि पार्टीको जिल्ला कमिटी सदस्य तथा भ्रातृ संगठन मजदुर संघको जिल्ला संयोजक रहेको खुलेको छ । उनी २०७७ माघ ४ गते जसपामा प्रवेश गरी सोही पार्टीको जिल्ला सदस्य रहेको खुलेको छ ।