टिकटका लागि जसपाका नेताहरूबीच कुटाकुट: १० नेता घाइते - Himal Post Himal Post
  • २८ पुष २०८१, आईतवार
  •      Sun Jan 12 2025
Logo

टिकटका लागि जसपाका नेताहरूबीच कुटाकुट: १० नेता घाइते



वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जसपाबाट टिकट लिनेहरूबीच कुटाकुट भएको छ । जनता समाजवादी पार्टी नेपालका नेताहरू कुटाकुट गरेको बताइएको छ ।

आइतबार बिहान जनकपुरधामस्थित राजदरबार होटलमा बसेको बैठकमा टिकट वितरणको विषयमा भएको विवादले उग्ररूप लिँदा नेता तथा कार्यकर्ताबीच कुटपिट भएको जनाइएको छ भने केहि नेताहरू घाइते भएका छन्।

कुटपिटको क्रममा जसपा नेपालका केन्द्रीय कार्यकारिणी सदस्य गजाधर रोहिता यादव, जसपा निकट विद्यार्थीका प्रदेश उपाध्यक्ष विकास यादवसहित १० जना नेता तथा कार्यकर्ताहरु घाइते भएको जसपा धनुषाले जनाएको छ ।

धनुषाको गणेशमान चारनाथ नगरपालिकाका मेयर समेत रहको रामबाबु यादव, हँसपुर नगरपालिकाको टिकटका लागि रामनारायण कापरि र शहिदनगर नगरपालिकाको टिकटको लागि बरुण यादवले नपाएको भन्दै आक्रोशित समर्थकहरुले विवाद निकाल्दै नेतामाथि हातपात गरेका थिए ।

मधेश प्रदेश भरकै पालिकामा उम्मेदवारी छनोट निष्कर्षमा पुग्नका लागि बिहानदेखि बसेको बैठक स्थलमा आएर आकांक्षी उम्मेदवारहरूले टिकटका लागि नेताहरुलाई दवाव दिँदै आएका थिए ।

तर नेताहरुले उनीहरुलाई टिकट नदिई अरुलाई दिएको भन्दै आक्रोशित कार्यकर्ताहरूको भिडले बैठकमा बसेका संघ सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादव, जसपा मधेश प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव र गजाधर रोहिता यादवलगायतका शीर्ष नेताहरुको समेत उपस्थितिमा भइरहेको बैठकमा कुटपिट भएको थियो ।